१९ असार, काठमाडौं । भेनेजुएलामा दुई शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा ८ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।
उद्धारकर्मीहरूले १४० टन भग्नावशेषमुनि फसेका हर्नान गिललाई उनको अवस्थिति पत्ता लगाएको एक सय घण्टाभन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकालेका बीबीसीले जनाएको छ ।
गत जुन २४ मा भेनेजुएलामा गएको दुईवटा शक्तिशाली भूकम्पमा हालसम्म करिब २ हजार ३ सय जनाको मृत्यु पुष्टि भएको छ भने अझै पनि दशौं हजार मानिस बेपत्ता रहेका छन् । उनीहरुको खोज तथा उद्धारकार्य जारी छ ।
आठ दिनपछि जीवितै उद्धार गरिएका हर्नान गिलको उद्धारमा संलग्न चिलीका एक अग्निनियन्त्रकले आफूले अहिलेसम्म सामना गरेका उद्धार अभियानहरुमध्ये यो प्राविधिक रुपमा सबैभन्दा जटिल भनेका छन् ।
कोस्टारिकाको रेडक्रसमा कार्यरत प्यारामेडिक एलन माड्रिगलले गिललाई ‘पूर्णरूपमा ठीक’ अवस्थामा भग्नावशेषबाट बाहिर निकालेको बताए । आइतबार भग्नावशेषभित्रबाट आएको गिलको क्षीण आवाज पहिलो पटक सुन्ने व्यक्ति पनि माड्रिगल नै थिए ।
‘त्यो अत्यन्त भावुक क्षण थियो,’ उनले भने, ‘सुरुमा आफ्नै कानलाई विश्वास लागेन । मैले सहकर्मीलाई बोलाएर ‘मैले कल्पना मात्र गरिरहेको त होइन ?’ भनेर पुष्टि गर्न भनेको थिएँ ।’
त्यसपछि उद्धार टोलीले गिललाई बाहिर निकाल्न तीव्र रूपमा उद्धार अभियान अघि बढाएको थियो ।
भूकम्प आउँदा सपिङ मलसँगै रहेको पार्किङ क्षेत्रको बेसमेन्टमा थिए गिल
भूकम्प आउँदा गिल कातिया ला मारस्थित गालेरियास प्लाया ग्रान्डे सपिङ मलसँगै रहेको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सानो कङ्क्रिटको सुरक्षा कक्षमा ड्युटीमा थिए ।
प्रारम्भिक जानकारीअनुसार उक्त सुरक्षा कक्षले उनको वरिपरि सुरक्षात्मक आवरण (शेल) जस्तै काम गर्यो, जसका कारण उनीमाथि खसेको करिब १४० टन भग्नावशेषबाट जोगिन सफल भए ।
कोस्टारिकाको रेडक्रसका अर्का एक उद्धारकर्मीले गिललाई बाहिर निकाल्नुअघि भने, ‘उहाँले आफ्नो एउटा नङसमेत नच्यापिएको बताउनुभएको छ ।’
उद्धारका क्रममा गिललाई पानी उपलब्ध गराइएको थियो । चिकित्सकहरूले उनको शरीरमा सलाइन (इन्ट्राभेनस ड्रिप) समेत जोडिदिएका थिए ।
भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका उद्धार टोलीहरू उनलाई सुरक्षित रूपमा बाहिर निकाल्न निरन्तर खटिएका थिए ।
गिललाई ‘उत्साही र हँसिलो व्यक्ति’का रूपमा वर्णन
गिलसम्म पुग्न बनाइएका पहुँच सुरुङ (एक्सेस डक्ट) का केही भाग पटक–पटक भत्किएका थिए, जसले उद्धारकर्मी र गिल दुवैका लागि अभियान निकै जोखिमपूर्ण रहेको देखाएको थियो । रातभरको प्रयासपछि उद्धार टोलीले अन्तत: गिलसँग प्रत्यक्ष दृश्य सम्पर्क स्थापित गर्न सफल भयो ।
भग्नावशेषभित्र सानो क्यामेरा पठाएर खिचिएको भिडियोमा एक चिलीका अग्निनियन्त्रकले गिललाई क्यामेरातर्फ टाउको फर्काउन आग्रह गरेको सुनिन्छ ।
भिडियोमा उनको एउटा आँखा रातो देखिएको थियो । उनले अनुहारमा मास्क लगाएका थिए, जुन उद्धारकर्मीहरूले धुलो र भग्नावशेषबाट जोगाउन सानो प्वालमार्फत उनलाई पहिले नै उपलब्ध गराएका थिए ।
उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम जारी राखिरहँदा उनको आँखाको सुरक्षा गर्न चस्मा लगाउन पनि आग्रह गरेका थिए ।
मेक्सिको रेडक्रसका मार्को एन्टोनियो फ्रान्कोले गिललाई ‘उत्साही र हँसिलो व्यक्ति’का रूपमा वर्णन गरेका छन् ।
प्रतिक्रिया 4