+
+
Shares

अर्गानिक उत्पादनका लागि कम्पोष्ट मल कारखाना

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार २२ गते ११:१०

२२ असार,तेह्रथुम । तेह्रथुमका ग्रामीण बस्तीहरूमा खेतीपाती नै जीवनको आधार हो । तर, पछिल्ला वर्षहरूमा रासायनिक मलको अभाव, महँगो लागत र माटोको घट्दो उर्वराशक्तिले किसानहरू चिन्तित बन्दै गएका छन ।

यस्तै चुनौतीका बीच लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि प्रवर्द्धनको नयाँ अभियान सुरु गरेको छ । नगरपालिकाको वडा नं. ७ मा जैविक तथा कम्पोष्ट मल निर्माण कारखाना स्थापना गरिएको छ ।

हालै उद्घाटन गरिएको उक्त कारखानाले स्थानीय स्तरमै जैविक मल उत्पादन गर्ने लक्ष्य लिएको छ । यसबाट किसानले गुणस्तरीय मल सहज रूपमा प्राप्त गर्ने मात्र होइन, अर्गानिक खेती विस्तारका लागि पनि महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ । लगातार रासायनिक मलको प्रयोगले माटोको प्राकृतिक गुणस्तर कमजोर बन्दै गएको कृषि प्राविधिकहरू बताउँछन् ।

यही अवस्थालाई मध्यनजर गर्दै लालीगुराँस नगरपालिकाले कृषि विशेष अनुदान कार्यक्रम अन्तर्गत जैविक तथा कम्पोष्ट मल निर्माण कारखाना स्थापना गरेको हो ।

स्थानीय स्रोतसाधनको उपयोग गरी उत्पादन गरिने जैविक मलले माटोको स्वास्थ्य सुधार्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

कृषि क्षेत्रलाई दिगो र आत्मनिर्भर बनाउन अर्गानिक खेतीका लागि  कारखाना स्थापना अपरिहार्य रहेको नगर प्रमुख अर्जुन माबोहाङले बताए ।

रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको उल्लेख गर्दै अबको कृषि नीति स्वस्थ माटो र स्वस्थ उत्पादनतर्फ केन्द्रित हुनुपर्ने नगरप्रमुख माबोहाङ बताउँछन् ।

पहाडका किसानका लागि यो कारखाना एउटा संरचना मात्र होइन, दिगो कृषि, स्वस्थ वातावरण र आत्मनिर्भर भविष्यतर्फको आशाको नयाँ सुरुवात बन्ने विश्वास लिइएको छ

‘स्वस्थ माटो, स्वस्थ उत्पादन र स्वस्थ नागरिकका लागि अर्गानिक खेती अपरिहार्य छ’, नगर प्रमुख माबुहाङले भने, ‘स्थानीय स्रोत र सीपको उपयोग गरेर उत्पादन वृद्धि गर्ने तथा किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले यस्ता योजनालाई निरन्तरता दिएको छ । आगामी दिनमा अर्गानिक उत्पादनलाई बजारसँग जोड्ने र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि विस्तार गरिनेछ ।’

कारखाना निर्माणमा नगरपालिकाले संरचना निर्माणका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ भने डिभिजन वन कार्यालय तेह्रथुमले मेसिन खरिदका लागि ९ लाख रुपैयाँ उपलब्ध गराएको छ । स्थानीय समूहको लागत सहभागितासहित कुल १७ लाख ६२ हजार ५ सय रुपैयाँको लगानीमा कारखाना स्थापना भएको हो ।

कारखानाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहले लिएको छ । वन समूहको संलग्नताले वन, वातावरण र कृषि क्षेत्रबीचको सहकार्यलाई समेत बलियो बनाएको स्थानीयहरू बताउँछन् ।

यस परियोजनाले केवल मल उत्पादन गर्ने काम मात्र गर्दैन, यसले अर्गानिक कृषि संस्कृतिको विकासमा पनि योगदान पु‍र्याउने अपेक्षा गरिएको छ । गाउँघरमा खेर जाने जैविक पदार्थलाई उपयोग गरी कम्पोष्ट मल उत्पादन गर्न सकिने भएकाले फोहोर व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

कृषि विज्ञहरूका अनुसार जैविक मलको प्रयोगले माटोमा जैविक तत्वको मात्रा बढ्छ, पानी धारण गर्ने क्षमता सुधारिन्छ र दीर्घकालीन रूपमा उत्पादन प्रणालीलाई दिगो बनाउँछ । त्यसैले विश्वभर अर्गानिक कृषि अभ्यासप्रति आकर्षण बढिरहेको छ ।

लालीगुराँस नगरपालिकाले थालेको यो पहलले स्थानीय किसानलाई रासायनिक मलको निर्भरताबाट मुक्त गराउने मात्र होइन, अर्गानिक उत्पादनमार्फत नयाँ आर्थिक सम्भावना सिर्जना गर्ने भएको छ ।

यदि यो अभियान सफल भयो भने लालीगुराँस केवल हरियाली र प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, अर्गानिक कृषिको नमुना नगरका रूपमा पनि परिचित हुन सक्नेछ ।

पहाडका किसानका लागि यो कारखाना एउटा संरचना मात्र होइन, दिगो कृषि, स्वस्थ वातावरण र आत्मनिर्भर भविष्यतर्फको आशाको नयाँ सुरुवात बन्ने विश्वास लिइएको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?