२२ असार, काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिबहादुर) पन्तले वीरगञ्जका तारे होटलहरूमा सञ्चालित क्यासिनोहरूमा नेपालीहरूलाई पूर्ण रूपमा रोक लगाउन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले यस्तो माग गरेका हुन् ।
प्रहरी प्रशासनको मिलोमतोमा खुल्लमखुल्ला नेपालीहरूलाई पनि सहजै प्रवेश गराइएको भन्ने गुनासो स्थानीयहरूको रहेको भन्दै सांसद पन्तले यस्तो गतिविधिमा संलग्न प्रहरी प्रशासनमाथि कारबाही गर्न माग समेत गरे ।
उनले भने, ‘मेरो निर्वाचन क्षेत्र वीरगञ्जको प्रायः सबै तारे होटलहरूमा क्यासिनोहरू खोलिएका छन् । भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज घुम्न आउने पर्यटकहरूलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन गर्नका निमित्त खोलिएका ती क्यासिनोहरूमा हिजो आज त्यहाँका प्रहरी र प्रशासनको मिलोमतोमा खुल्लमखुल्ला नेपालीहरूलाई पनि सहजै प्रवेश गराइएको भन्ने स्थानीयहरूको व्यापक जनगुनासो छ । यसरी क्यासिनोमा नेपालीहरूले सहजै प्रवेश पाउँदा क्यासिनोको लतमा परेका वीरगञ्ज तथा यस वरिपरिका ठूला व्यापारी घरानादेखि लिएर भर्खरै व्यवसायमा हात हालेका युवा उद्यमीसम्म र मध्यम वर्गीय परिवारदेखि लिएर विभिन्न पेशामा आबद्ध रहेका पेशाकर्मीहरूसम्म आफ्ना जायजेथा क्यासिनोमा हारेर बिल्लिबाठ भएको अवस्था छ । त्यसरी क्यासिनोको लतमा परेका कयौं व्यक्तिहरूको हुँदाखादाको व्यापार व्यवसाय र लेनदेन बिग्रिन गई सामाजिक र पारिवारिक सम्बन्ध नै क्षतविक्षत भएको अवस्था पनि छ । त्यसैले म सम्माननीय सभामुखज्यू मार्फत सरकार र पर्साको स्थानीय प्रशासनलाई क्यासिनोहरूमा नेपालीहरूको पूर्ण रूपमा रोक लगाउन र दोषी देखिए त्यहाँका प्रहरी प्रशासनलाई पनि कारबाही गर्न जोडदार माग गर्दछु ।’
सांसद पन्तले वीरगञ्ज नाका हुँदै भारत पुगेका गाँजा र चरेसका गाडीहरू भारतीय बजार रक्सौल लगायत सीमावर्ती बजारहरूमा भारतीय सुरक्षाकर्मीहरूले क्विन्टलको क्विन्टल गाँजा बरामद गरेको तथ्यहरू सञ्चारमाध्यमहरूबाट आइरहँदा पर्सा प्रहरीमाथि नै यसले गम्भीर प्रश्न खडा गरेको बताए ।
आम सर्वसाधारणले एक दुई हजारका घरायसी सामान ल्याउँदा पक्रने तर तस्करहरूले मुख्य नाका हुँदै ठूलो मात्रामा लागुऔषध लगायतका तस्करीका सामानहरू ओहरदोहर हुँदा पनि नदेख्ने प्रहरी प्रशासनको यस्तो विषय गम्भीर भएको उनले बताए ।
केही दिन अघि मात्रै गृहमन्त्री स्वयंलाई त्यहाँका स्थानीयहरूले बताएको कुराहरू सामाजिक सञ्जालहरूमा पनि आएको स्मरण गराउँदै सांसद पन्तले त्यस बाबजुद पनि गृहमन्त्री र गृह मन्त्रालय मौन बस्नुलाई पर्साका जनताले निकै चासोका साथ हेरिरहेको बताए ।
प्रतिक्रिया 4