+
+
Shares

अमेरिकाबाट स्वदेश ल्याइयो दुई ऐतिहासिक पुरातात्विक मूर्ति

फर्काइएका सम्पदामा १३औँ शताब्दीको सुनले जलप गरिएको कांस्य पद्मपाणी मूर्ति र १६औँ शताब्दीको बहुरङ्गी काठबाट निर्मित नृत्यदेवीको मूर्ति रहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १७:३०

२२ असार, काठमाडौं । अवैध ओसारपसारबाट अमेरिका पुर्‍याएका दुई मूर्तिहरू स्वदेश फर्काइएको छ । फर्काइएका सम्पदामा १३औँ शताब्दीको सुनले जलप गरिएको कांस्य पद्मपाणी मूर्ति र १६औँ शताब्दीको बहुरङ्गी काठबाट निर्मित नृत्यदेवीको मूर्ति रहेका छन्।

यी अमूल्य सांस्कृतिक सम्पदाको फिर्तासँगै सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण तथा धार्मिक एवं ऐतिहासिक वस्तुहरूलाई तिनको मौलिक समुदायमा पुनःस्थापना गर्ने विषयमा नेपाल र अमेरिकाबीचको दीर्घकालीन सहकार्य थप सुदृढ भएको अमेरिकी राजदूतावासले जनाएको छ ।

हालै लागू भएको अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौताले यस सहकार्यलाई अझ प्रभावकारी बनाउने दूतावासको नोटमा उल्लेख छ ।

सम्झौताले अनुसन्धानमा सहकार्य, अवैध तस्करी रोकथाम तथा नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणका लागि दुवै देशबीच संयुक्त प्रयासलाई थप मजबुत आधार प्रदान गर्ने जनाइएको छ।

अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले हालसम्म अमेरिकाबाट नेपालका १२७ वटा पुरातात्त्विक सम्पदा स्वदेश फिर्ता गरिसकिएको जानकारी दिए।

उनका अनुसार यी दुई पवित्र मूर्तिको पुनःस्थापनाले आपराधिक अनुसन्धान, कूटनीतिक समन्वय र समुदायको सक्रियतामार्फत पुरातात्त्विक सम्पदाको अवैध तस्करी नियन्त्रण गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

उनले नयाँ अमेरिका–नेपाल सांस्कृतिक सम्पदा सम्झौताले भविष्यका अनुसन्धानलाई सहयोग पुर्‍याउने, अवैध तस्करी नियन्त्रण गर्ने तथा नेपालको अमूल्य सांस्कृतिक सम्पदालाई गैरकानुनी बजारमा पुग्नबाट जोगाउन थप बलियो आधार तयार गरेको बताए।

तस्वीरहरू- अमेरिकी दूतावास 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?