२३ असार, काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादनको लन्च हुने जानकारी दिएको हो।
आयोजकका अनुसार एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू प्रदर्शन गरिनेछन्।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको संस्था हाल ३६ सदस्य कम्पनीसम्म विस्तार भएको बताउँदै यसले अटोमोबाइल तथा मोबिलिटी उद्योगमा नाइमाप्रतिको विश्वास बढ्दै गएको संकेत गरेको बताए ।
उनले नाइमाले मोबिलिटी सुधार, ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना, क्षमता अभिवृद्धि तथा नीतिगत वकालतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
अध्यक्ष वैद्यका अनुसार एक्स्पोको टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप र क्षमता विकाससम्बन्धी कार्यक्रमका लागि छुट्याइनेछ। फेलोसिपअन्तर्गत तयार हुने अनुसन्धान तथा लेखहरू नाइमाको मोबिलिटी जर्नलमा प्रकाशित गरिने पनि उनले बताए ।
नाइमाले आगामी दिनमा मोबिलिटी कन्क्लेभ आयोजना गर्नुका साथै नेपाल सरकारसँग सहकार्य गरी मोबिलिटी क्षेत्रमा सिप विकास र रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।
पत्रकार सम्मेलनमा सदस्य कम्पनी तथा उद्योगसँग सम्बन्धित सरोकारवालाबाट बढ्दो माग आएपछि कमर्सियल मोबिलिटी क्षेत्रलाई लक्षित गर्दै छुट्टै एक्स्पो आयोजना गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको जानकारी दिइयो।
साथै, प्रदर्शनीस्थलको सीमितताका कारण केही इच्छुक कम्पनीलाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै नेपालमा ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको नाइमाले जनाएको छ।
प्रतिक्रिया 4