२३ असार, काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ १०० प्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गर्ने भएको छ।
कम्पनीले उक्त गाडी आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलोपटक सार्वजनिक गर्ने जनाएको छ।
कम्पनीका अनुसार शहरी यात्रालाई लक्षित गरी विकसित गरिएको चेरी क्यू आधुनिक डिजाइन, फराकिलो केबिन र उपयोगी फिचरका साथ आउनेछ। यसमा ३७५ लिटरको बुट स्पेस रहेको छ भने पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने क्षमता १,४५० लिटरसम्म पुग्नेछ।
यो गाडीमा ९० किलोवाट क्षमताको परमन्ट म्याग्नेट इलेक्ट्रिक मोटर र ४१(२ किलोवाट–आवर एलएफपी ब्याट्री जडान गरिएको छ। रियर–ह्विल ड्राइभ (आरडब्लूडी) प्रणालीमा आधारित यस गाडीले एनईडीसी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
चार्जिङका लागि यसमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ। साथै, भेहिकल–टु–लोड (भीटुओएल) प्रविधिका कारण गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न पनि सकिनेछ।
चेरी क्यू तीन भेरियन्ट, पाँच वटा बाहिरी रङ र दुई वटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनका कारण चेरी क्यू नेपाली बजारमा विद्युतीय सवारीसाधनको नयाँ विकल्प बन्ने अपेक्षा गरिएको छ।
चेरी क्यूको आधिकारिक मूल्य र विस्तृत विवरण नाइमा मोबिलिटी एक्स्पो २०२६ का क्रममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4