२३ असार, भक्तपुर । ‘क्यान्टिनमा भात बन्द गरेपछि यिनीहरू आफैं यहाँबाट निस्किन्छन् भनेका रहेछन् । सरकारले हामीलाई बाटोमा छाडेको जनावर जत्ति पनि व्यवहार गरेन ।’
भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरकी सविना कार्कीको भनाइ हो यो । सरकारले गत वैशाखमा शङ्खमूल, थापाथली, गैह्रीगाउँ, मनोहरा लगायतका बस्तीबाट ९९ परिवारका २०७ जनालाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र पुर्यायो ।
त्यही होल्डिङ सेन्टरमा बस्दै आएकी ३० वर्षीया सविना होल्डिङ सेन्टरमा खान दिन छाडेपछि आफ्नी सानी छोरीलाई समेत चाउचाउको भरमा राख्नु परेको बताउँछिन् ।
मंगलबार दिउँसो अनलाइनखबरकर्मी होल्डिङ सेन्टरमा पुग्दा सविनाको आँसु बगिरहेको थियो । रातो पहिरनमा सजिएकी छोरीको अनुहार हेर्दा उनी थप भावुक बन्थिन् ।
त्यसो त सञ्चारकर्मीलाई होल्डिङ सेन्टर प्रवेशमा कडाइ गरिएको थियो। जसोतसो गेटबाट निश्चित दूरीसम्म जाने आज्ञा पायौं । त्यसबारे एक जना भूमिहीनले भनिन्, ‘यो सरकार पत्रकारहरूसँग पनि डराएको छ। भित्र छिर्न दिँदैन।’

सविनासँग कुरा गर्न सहज थिएन । उनको रुवाइले पुरै होल्डिङ सेन्टर थर्किएको थियो । त्यो रुवाइले नछुने शायदै कोही थिए ।
कुराकानीका क्रममा उनले कयौँ पटक आफ्नो जीवन र शासकहरुको जीवन तुलना गरिरहिन्। आफ्नी छोरीले पौष्टिक आहार खान पाउनुपर्ने र अन्य नागरिकसरह पढ्न पाउनुपर्ने कुरा दोहोर्याइराखिन्।
‘देशभित्र नै किन दोहोरो व्यवहार ? प्रधानमन्त्रीहरुका छोराछोरीले राम्रो स्कुल पढ्न पाउने, मेरो छोरी भने भोकभोकै बस्नुपर्ने। यो कस्तो शासन हो, कस्तो व्यवस्था हो ?,’ रोदन मिसिएको आवाजमा उनले भनिन्।
सविना नरोकिएपछि उनका श्रीमान् रवीन्द्र सम्हाल्न आइपुगे। वैशाखअघिसम्म रविन्द्रको जीवन सुखदु:ख चलिरहेकै थियो। रोजगारी थियो, छोरीको पढाइ नियमित गतिमै गइरहेको थियो। दश नङ्ग्रा खियाउँदा खानलाउन पुगेकै थियो । घरमा सरकारले डोजर चलाएपछि केही बाँकी रहेन ।
सविना विपन्नहरूका लागि सरकारै नभएको बताउँछिन्। न्याय नपाए गोरखा जानु भन्छ तर विदेशका शरणार्थीहरूले समेत संरक्षण पाएको देशमा आफूहरूलाई भने विरानो मुलुकको जस्तो व्यवहार भएको बताउँछिन् ।
‘सबैले न्याय पाउने, हामीले चाहिँ नपाउने… हामी त देशभित्रैका अनागरिक भयौं,’ हिक्क हिक्क गर्दै सविना भन्छिन्।
०००
गेट नजिकै एक जना वृद्धको हातमा हरियो झोला झुण्डिरहेको थियो । उनले त्यो हाते झोलामा चिउरा बोकेका रहेछन् । उनी मानबहादुर राई रहेछन् । दीर्घरोगी उनलाई औषधि खाइराख्नुपर्ने हुन्छ । तर, खाना दिन छाडेपछि नियमित औषधि खान पाएका छैनन् । खानापछि खानु पर्ने औषधि खान नपाएको उनले बताए ।
गेटको छेउमा टोलाइरहेका उनी भन्छन्, ‘हामीलाई त साह्रै अन्याय भयो। अब यो उमेरमा भएको बास पनि उजाडियो। फर्किने ठाउँ पनि छैन,’ हाँसे जस्तो गरेर उनले भने। तर, उनको आँखाले बताइरहेको थियो त्यो हाँसो पीडाको थियो ।

विगतका पार्टीहरूले जस्तै अहिलेको सरकारले पनि आफूलाई केवल भोट बैंकको रूपमा मात्र प्रयोग गरेको उनी सुनाउँछन्। ‘हामीले पटक पटक नयाँ – पुराना दुवै देखेका हौँ। तर, आजसम्म हाम्रा लागि बोलिदिने र गरिदिने पार्टी पाएका छैनौं,’ राई भन्छन्।
सरकारले होल्डिङ सेन्टर खाली गर्न असार २४ गतेसम्मको समय दिएको छ। तर, यहाँका भूमिहीनहरूले २२ गतेबाटै खाना पाएनन् । बसोवासको ठेगान भेट्टाउन सकेका छैनन्।
‘हामीलाई सरकारको पैसा चाहिएको छैन। सरकारले सधैँभरि खान लाउन दियोस् पनि भनेका छैनौँ। हामीलाई आफ्नो टाउको ओताउने आफ्नै छानो देओस्। योबाहेक अर्को चाहना छैन हाम्रो,’ मनबहादुर भन्छन्।
०००
पम्फा दर्जीलाई पनि सविना जस्तै आफ्नो छोराको भोको पेटको चिन्ता छ। छोराको पढाइको चिन्ता छ। अनि मानबहादुरको जस्तै कोठा कहाँ खोज्न भन्ने समस्या छ।

उनीसँग त झन नागरिकता पनि छैन। होल्डिङ सेन्टरमा लैजाने क्रममा भने पम्फालाई नागरिकता दिने आश्वासन बाँडिएको थियो। आफ्नो घर-व्यवहार उजाडिए पनि नागरिकतासम्म पाए भने त छोराछोरीलाई पढाइ-लेखाइ गरेर कुनै इलममा लगाउन सकिन्छ भन्ने झिनो आशा पलाएको थियो।
होल्डिङ सेन्टरमा खाना दिन छाडीसक्यो, उनको नागरिकताको टुंगो छैन । ‘कहिँ काम गर्न जाऊँ भन्दा पनि नागरिकता खोज्छन्, बैंकमा खाता खोल्न खोज्दा नागरिकता खोज्छन्। मेरो छोराछोरी कसरी पढ्लान्, कसरी काम गर्लान्?’ बोल्दाबोल्दै उनको आँखा रसाउँछ।
पम्फाले छोरीलाइ होल्डिङ सेन्टर नजिककै स्कूलमा भर्ना गरेकी थिइन् । असार १२ गतेदेखि स्कुल जान सकेकी छैनन् ।

श्रीमान् बितेदेखि तीन सन्तानको जिम्मेवारी पम्फाकै काँधमा छ । अर्काको भोजभतेरमा भाँडा माझ्दै, छोराछोरी पढाउँदै थिइन् उनी। बस्ती डोजर लागेपछि उनका दुखका दिन थपिए ।
‘मलाई कतैबाट पनि नागरिकता दिलाउने प्रबन्ध गरिदिनुस्। होइन भने मेरो काम गर्ने, कमाउने बाटो नै रोकिन्छ,’ उनी रुँदै भन्छिन्।
०००
भोकभोकै होल्डिङ सेन्टरमा बसेकी सुकमाया गुरुङलाई त्यहाँ खटिएका सुरक्षाकर्मीहरूको हाँसो आफ्नो परिस्थितिप्रतिको व्यङ्ग्य जस्तो लाग्छ।
आर्थिक अभावका कारण पत्थरीको शल्यक्रिया गर्न नपाएको उनी बताउँछिन् । रोजगार नै धरापमा परेको अवस्थामा उनी कसरी आफ्नो उपचार गर्ने भन्ने असमञ्जसमा छिन्। सरकारले दिनहुँ होल्डिङ सेन्टरबाट निस्की भने पनि बाहिर कोठा पाएकी छैनन् ।
सुकमाया भन्छिन्, ‘यो मेरो मात्र समस्या होइन, हामी सबै सुकुमवासीहरूको समस्या हो। हाम्रो ज्यानलाई खेलाँची सम्झिएको हो कि ? सोमबारदेखि खाना त के पिउने पानी पनि पाएका छैनौं । यस्तो बेलामा कहाँ जाने कसलाई भन्ने ?’



भिडियो र तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4