२४ असार, काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्डले क्वार्टरफाइलनमा पुग्ने अवसर पायो ।
पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए ।
स्विट्जरल्यान्डका ४ खेलाडीले गोल गर्दा एकजनाले गोल गर्न सकेनन् । ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुअल अकांजीले गोल गर्न सकेनन् ।
सन १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिदै आएको थियो ।
१३औं पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।
प्रतिक्रिया 4