२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकालले सरकारका अंगहरूले नागरिकलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्रकृतिक स्रोत समितिको तर्फबाट झापा, मोरङ, सुनसरी र धनकुटाका केही किसानहरूसँग भेटघाट गरेर दुई दिन अगाडि मात्रै काठमाडौं फर्किएको जानकारी संसद्लाई गराए ।
त्यसक्रममा प्राप्त अनुभवलाई उनले प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन् ।
‘सबै किसानको एउटै गूनासो छ– गाडीमा माछा हालेर बेच्न लैजाऔं अथवा मौरी चराउन बारीको तरकारी बेच्न लैजाऔं । प्रत्येक चोक सडमा ट्राफिक प्रहरी नगदले खुसी नपारी सुख छैन,’ उनले सुनाए ।
अन्यत्र पनि यस्तो समस्या रहेको उनले बताए ।
‘मालपोत, नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको काम तीन दिन लगाएर सास्ती दिन्छन्,’ किसानको कुरा उनले सुनाए, ‘तराईको उखरमाउलो गर्मीले खेत सुख्खा छ । रसायनिक मल सुघाउँन पनि पुग्दैन । सिंचाइ गर्न मोटर चलाऔं वत्तीको लाइन छैन । खेत काम गर्दा झैँ ओच्छ्यानमा सुतेर बस्दा पनि पसिनाको धारा बग्छ । पंखा चलाउन पाइँदैन् ।’
किसानका यस्ता गूनासा संसद्मा सुनाउँदै उनले राज्यका अंगहरूको भूमिकाको विषयमा प्रश्न उठाएका हुन् ।
उनी भन्छन्, ‘के सरकारका सबै अंगहरू जनतालाई दु:ख दिनका निमित्त परिचालित हुन् ? सरकारलाई यो कुरा थाहा छ कि छैन ? थाहा छैन भने पनि ठिकै छ । थाहा होस्, सम्बन्धित सबै मन्त्रीहरू उर्जा, गृह, कृषि लगायतले यसको समाधानसहितको जवाफ संसद्बाटै दिउन् । यो जनताको चाहना हो ।’
प्रतिक्रिया 4