+
फिफा विश्वकप २०२६ :

इतिहासकै रोमाञ्चक गोल्डेन बुट दौड, चार स्टारबीच कडा प्रतिस्पर्धा

२०८३ असार  २५ गते १२:१२ २०८३ असार २५ गते १२:१२

२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ उपाधिको प्रतिस्पर्धा जति रोमाञ्चक बनेको छ, गोल्डेन बुटको दौड पनि त्यत्तिकै ऐतिहासिक बनेको छ ।

यसपटक चार विश्वस्तरीय स्टार- लियोनेल मेसी, किलियन एमबाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनबीच विश्वकपको सर्वाधिक गोलकर्ताको उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ ।

सामान्यतया विश्वकपमा एक खेलाडीले सहज रूपमा गोल्डेन बुट जित्ने गरेको इतिहास छ । तर यसपटक अवस्था फरक छ । चारै जना लगातार गोल गर्दै इतिहास रच्ने अभियानमा छन् ।

हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोलसहित शीर्ष स्थानमा छन् । फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७–७ गोल गरेका छन् भने इंग्ल्यान्डका ह्यारी केनको नाममा ६ गोल छ ।

अधिकांश विश्वकपमा ५ वा ६ गोल नै गोल्डेन बुट जित्न पर्याप्त हुने गरेको थियो । सन् २००६ मा मिरोस्लाभ क्लोजेले ५ गोलमै गोल्डेन बुट जितेका थिए । सन् २०१० मा थोमस मुलरले पनि ५ गोलमै गोल्डेन बुट हात पारेका थिए ।

सन् २०१८ मा ह्यारी केनले ६ गोल र २०२२ मा एमबाप्पेले ८ गोलसहित गोल्डेन बुट जितेका थिए । तर यसपटक भने यस्ता संख्या प्रतिस्पर्धाको सुरुवातजस्तै देखिएको छ ।

विश्वकपको करिब सय वर्षको इतिहासमा यसअघि केवल आठ खेलाडीले मात्रै एउटै संस्करणमा ८ वा सोभन्दा बढी गोल गर्न सकेका थिए ।

अब मेसी पनि त्यही विशिष्ट सूचीमा परेका छन् । एमबाप्पे, हालान्ड र केन पनि त्यही कीर्तिमान नजिक पुगेका छन् ।

अर्कोतर्फ विश्वकपको एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि तोडिन सक्छ । हाल सन् १९५८ को विश्वकपमा जस्ट फोन्टेनले गरेको १३ गोल कीर्तिमानका रूपमा छ । उनले त्यसबेला ६ खेलमा १३ गोल गरेका थिए ।

गोल्डेन बुट कसरी तय हुन्छ ?

गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीले जित्छ । यदि गोल बराबर भए सबैभन्दा धेरै असिस्ट कसको छ उसलाई नै विजेता घोषित गरिन्छ ।

गोल र असिस्ट दुवै बराबर भए कम समय मैदानमा बिताएको खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ ।

मेसी अगाडि, तर प्रतिस्पर्धा खुला

मेसीले ८ गोलका साथै १ असिस्ट गरेका छन् । उनले ४१० मिनेट मात्र खेलेका छन्, जुन शीर्ष चार खेलाडीमध्ये दोस्रो कम समय हो । यदि अन्तिमसम्म गोल बराबरी भयो भने कम मिनेट खेलेकै आधारमा पनि उनलाई फाइदा पुग्न सक्छ ।

३९ वर्षीय मेसीले समूह चरणमा ६ तथा नकआउट चरणमा २ गोल गरेका छन् । उमेर बढे पनि निर्णायक क्षणमा खेलको दिशा बदल्ने क्षमता उनले अझै कायम राखेका छन् ।

एमबाप्पे फेरि इतिहास रच्ने तयारीमा

साविक गोल्डेन बुट विजेता एमबाप्पेले यस विश्वकपमा ७ गोल र २ असिस्ट गरेका छन् । उनले समूह चरणमा ४ र नकआउटमा ३ गोल गरेका छन् ।

यदि उनले ८ गोलको आँकडा पार गरे भने दुई फरक विश्वकपमा ८ वा सोभन्दा बढी गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन् ।

हालान्डको पहिलो विश्वकपमै सनसनी

नर्वेका एर्लिङ हालान्डले पहिलो पटक विश्वकप खेल्दै ७ गोल गरिसकेका छन् ।

उनको गोल गर्ने दर चारै स्टारमध्ये उत्कृष्ट छ। उनले कम अवसरमा धेरै गोल गरेका छन् र प्रतियोगिताकै सबैभन्दा प्रभावकारी स्ट्राइकरका रूपमा देखिएका छन् ।

केन पनि दौडमा

इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल र १ असिस्ट गरेका छन् ।

सन् २०१८ को गोल्डेन बुट विजेता केन यसपटक पनि उपाधि दोहोर्‍याउने लक्ष्यमा छन् । अवसरलाई गोलमा बदल्ने क्षमताका कारण उनी अन्तिमसम्म प्रतिस्पर्धामा रहने अपेक्षा गरिएको छ ।

कसले जित्ला गोल्डेन बुट ?

सेमिफाइनल र सम्भावित फाइनल अझै बाँकी रहेकाले चारै खेलाडीसँग गोल संख्या बढाउने पर्याप्त अवसर छ । तर मेसी, हालान्ड र केनमध्ये एक खेलाडी मात्र फाइनलसम्म पुग्न सक्छन् ।

त्यसकारण यी तीन खेलाडीमध्ये एकको प्रतिस्पर्धा एमबाप्पेसँग हुन सक्छ । जसले निर्णायक खेलमा आफ्नो टोलीलाई जिताउँदै गोल थप्न सफल हुन्छ, उसैले गोल्डेन बुट जित्ने सम्भावना बलियो हुनेछ ।

एकातिर विश्वकपको उपाधि जित्ने सपना छ भने अर्कोतिर व्यक्तिगत रूपमा विश्वकै उत्कृष्ट गोलकर्ता बन्ने अवसर । त्यसैले यसपटकको गोल्डेन बुटको दौड विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक र यादगार प्रतिस्पर्धामध्ये एक बन्ने निश्चित देखिएको छ ।

-बीबीसीबाट

गोल्डेन बुट फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय