२५ असार, काठमाडौं । कुमारी बैंकले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाभित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकको गौमुल शाखामार्फत गौमुल गाउँलिकाका मानाकोट माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय, अम्लिस माध्यमिक विद्यालय, फूलपाता माध्यमिक विद्यालय, किर्तिचौर माध्यमिक विद्यालय र बालविकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरेको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने बैंकको भनाइ छ ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन योगदान पुग्ने बैंकको भनाइ छ ।
कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल देशभर फैलिएका २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।
प्रतिक्रिया 4