काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली फिल्म ‘गौँथली’ को अहिले चर्चामा छ । दुई दशकअघि ‘गौँथली’ नाममा भोला रिजालले फिल्म बनाएका थिए । त्यो फिल्म मुलुकको पहिलो गीति फिल्म समेत हो ।
त्यतिबेला फिल्मले प्रदर्शनको ५१ औं दिन पनि मनाएको थियो । अहिले आएर उनका छोरा तथा दन्त चिकित्सक कपिल रिजालले बुवाको विरासत पछ्याउँदै सोही नामको फिल्म निर्देशन गरेका छन् ।
चलचित्र विकास बोर्डको नियमअनुसार हरेक १० वर्षमा एक नाममा अर्को फिल्म पनि बनाउन मिल्छ । सोही नियमलाई पछ्याउँदै कपिलले बुवाको सुपरहिट फिल्मको शीर्षकमा नयाँ फिल्म निर्देशन गरेका हुन् ।
नयाँ ‘गौंथली’ चाहिँ १ साउनदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । केही दिनअघि युट्युबमा रिलिज भएको फिल्मको ट्रेलरले दर्शकको मन जितेको निर्माता बताउँछन् । अहिलेसम्म यो ट्रेलरलाई युट्युबमा ७ लाखभन्दा धेरैपटक हेरिएको छ ।
ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । ग्रामीण भेगकी युवती ‘गौँथली’ (सिम्रन खड्का) को शिक्षाप्रतिको तिर्खा र उनले भोग्नुपरेको सामाजिक पीडालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलरको सुरुवातमा स्कुले जीवन र पढाइमा अब्बल गौँथलीलाई देखाइएको छ, जसका गुरुले उनलाई ’एसएससी’ पास गराउने सपना देख्छन् । तर, पारिवारिक बाध्यताका कारण उनको बालविवाह हुन्छ ।
विवाहपछि गौँथलीको जीवनमा आउने उतारचढाव ट्रेलरको मुख्य आकर्षण हो । अरुण क्षेत्रीले निर्वाह गरेको पात्र केही भिन्न र सरल स्वभावको देखिएको छ, जसले गौँथलीको पढ्ने चाहनामा साथ दिन खोज्छ । तर, घरकी सासू र समाजको कठोर सोचले उनको पुस्तक जलाइन्छ र उनलाई पढ्नबाट वञ्चित गरिन्छ ।
ट्रेलरमा अरुणको अभिनयले धेरैको ध्यान खिचेको छ । उनको ’अनौठो र ’निर्दोष’ चरित्रले फिल्ममा केही नयाँपन दिने संकेत गरेको छ । त्यस्तै, अभिनेत्री सिम्रनले गौँथलीको भूमिकामा जीवन्त अभिनय गरेकी छिन् । आँशु, संघर्ष र विद्रोहको भाव उनको अनुहारमा स्पष्ट देख्न सकिन्छ ।
’छोरीलाई पढाउनुपर्छ’ भन्ने मूल सन्देश बोकेको यो फिल्मले पहाडी भेगको यथार्थ परिवेशलाई समेटेको छ यस कारण ‘गौँथली’ले समाजमा सकारात्मक सन्देश दिने विश्वास पनि दर्शकले व्यक्त गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा छन् । रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको नृत्य निर्देशन छ ।
प्रतिक्रिया 4