२५ असार, काठमाडौं । नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ।
द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता सम्पन्न भएको छ। यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने कलेजले जनाएको छ ।
रणनीतिक सम्झौता अनुसार क्यान यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’को रूपमा रहनेछ। उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिस कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यानका कार्यवाहक अध्यक्ष तथा वन कभरका संस्थापक तथा सीईओ चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरे ।
यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान रहेको कलेजको भनाइ छ।
‘नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली उद्यमीलाई उद्योगका अनुभवी नेतृत्वकर्ता, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ।’
नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजी सँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिने कलेजले जनाएको छ । साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिए ।
सिलिकन भ्याली र १ मिलियन डलरको सुनौलो अवसर
पेगासस टेक भेन्चर्सद्वारा विश्वव्यापी रूपमा आयोजना हुने ‘स्टार्टअप वर्ल्ड कप’ विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धा मध्ये एक हो। यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ।
ग्लोबल एक्सपोजर नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्। विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन्।
प्रतिक्रिया 4