काठमाडौं । काठमाडौंको नारायणगोपाल चोक नजिकै बाँसबारीस्थित धापासी मार्गमा अत्याधुनिक सुविधा, आकर्षक डिजाइन र बहुउद्देश्यीय संरचनासहित नयाँ इभेन्ट भेन्यू ‘रामालय’ सञ्चालनमा आएको छ ।
कर्पोरेट कार्यक्रमदेखि विवाह, सांस्कृतिक समारोह, कन्सर्ट र अन्तर्राष्ट्रियस्तरका सम्मेलनसम्म आयोजना गर्न सकिने गरी निर्माण गरिएको रामालयले नेपाली इभेन्ट उद्योगमा नयाँ अवधारणा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
आधुनिक वास्तुकलासँगै प्राकृतिक हरियालीको संयोजन
करीब ३३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको रामालय आधुनिक वास्तुकलासँगै प्राकृतिक हरियालीको संयोजनमा निर्माण गरिएको छ ।
शहरको व्यस्त वातावरणबीच रहेको भए पनि भेन्यूभित्र प्रवेश गरेपछि रिसोर्टजस्तै शान्त र खुला वातावरणको अनुभूति हुने गरी यसको डिजाइन गरिएको छ ।

रामालयको मुख्य आकर्षणमध्ये एलईडी सिलिङ प्रणाली, इन्टेलिजेन्ट तथा हाइड्रोलिक लाइटिङ, व्यावसायिक स्तरको साउन्ड सिस्टम, स्वचालित ‘मुड सेटिङ’ जोन र आकर्षक इन्टेरियर डिजाइन रहेका छन् । यी विशेषताले यहाँ आयोजना हुने कार्यक्रमलाई आकर्षक र स्मरणीय बनाउने सञ्चालकको विश्वास छ ।
स्टेजको आकार परिवर्तन गर्न सकिने
मुख्य हल करिब ८ हजार वर्गफिट र आउटडोर क्षेत्र ९ हजार वर्गफिटमा फैलिएको छ । आवश्यकता अनुसार स्टेजको आकार आवश्यकता अनुसार घटाउन–बढाउन सकिने व्यवस्था छ ।
उच्चस्तरीय बार, अपाङ्गतामैत्री पहुँच, चेन्जिङ रुम तथा पर्याप्त पार्किङ सुविधाले विभिन्न प्रकृतिका कार्यक्रम सञ्चालनलाई सहज बनाएको छ ।

रामालयको अर्को विशेषता भनेको सवारी साधनलाई नै स्टेजसम्म पुर्याउन मिल्ने संरचना हो ।
सञ्चालक खुश्बु ओझाका अनुसार चारपाङ्ग्रे गाडी, मोटरसाइकल तथा अन्य हलुका सवारी साधनलाई स्टेजमै राखेर प्रडक्ट लञ्च गर्न सकिने गरी भेन्यू निर्माण गरिएको छ । नेपालमा यस प्रकारको सुविधा उपलब्ध गराउने भेन्यू निकै सीमित रहेको उनको भनाइ छ ।
यसअघि रामबाग महल र उत्सव कुञ्जजस्ता इभेन्ट भेन्यूको व्यवस्थापन गरिसकेकी ओझाले नेपालमा अन्तर्राष्ट्रियस्तरको कर्पोरेट इभेन्ट आयोजना गर्न उपयुक्त स्थलको अभाव महसुस भएपछि रामालय सञ्चालनमा ल्याएको बताइन् ।
सुरक्षा पनि प्राथमिकतामा
उनका अनुसार नेपालका पाँचतारे होटलका ब्यांक्वेट हलमा उपलब्ध नभएका केही प्रविधि र पूर्वाधारलाई समेत समेटेर रामालय निर्माण गरिएको छ । त्यसैले सम्मेलन, गोष्ठी, सेमिनार, फेसन शो, ब्युटी प्याजेन्ट, कन्सर्ट, चलचित्र प्रिमियर, शैक्षिक कार्यक्रमदेखि शुभमुहूर्तसम्मका विविध कार्यक्रम यहाँ आयोजना गर्न सकिन्छ ।

रामालयले सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । मुख्य प्रवेशद्वारका अतिरिक्त पछाडिबाट पनि सहज आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।
आकस्मिक अवस्था आएमा ३० सेकेन्डदेखि एक मिनेटभित्र अतिथि लगायतका सहभागीहरुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सकिने गरी आपतकालीन निकासको डिजाइन गरिएको सञ्चालकले जानकारी दिइन् ।
आरजी क्रियसन्सको कन्सेप्ट, डिजाइन र निर्माण
रामालयको अवधारणा, डिजाइन र निर्माण आरजी क्रियसन्सले गरेको हो । इभेन्ट भेन्यू निर्माणमा अनुभव र नवीन डिजाइनका कारण नयाँ मानक स्थापित गरेको आरजी क्रियसन्सले रामालयलाई फरक पहिचान दिन सफल भएको उनको भनाइ छ ।
डेस्टिनेसन वेडिङलाई पनि लक्षित गरी निर्माण गरिएको रामालयले विशेषगरी भारतलगायतका छिमेकी मुलुकबाट नेपाल आउने विवाह समारोहका आयोजकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

एकैपटक करिब दुई हजार जनासम्म सहभागी हुने कार्यक्रम आयोजना गर्न सकिने क्षमता रहेको यस भेन्यूमा हाल दैनिक १०–१५ जना अवलोकनका लागि आउने गरेका छन् । सञ्चालकका अनुसार भेन्यूको सुविधा र संरचना अवलोकन गरेपछि अधिकांश आगन्तुकले कार्यक्रम बुक गर्ने गरेका छन् ।
आधुनिक प्रविधि, लचिलो संरचना, प्राकृतिक वातावरण, सुरक्षा र अन्तर्राष्ट्रियस्तरको सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयाससहित सञ्चालनमा आएको रामालयले नेपालको इभेन्ट उद्योगमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया 4