News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो २ बजे पार्टीको इतर समूहका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
- चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने उक्त बैठकमा इतर समूहको राष्ट्रिय भेलाको मिति तय गर्नेबारे छलफल हुनेछ ।
- तीन दिनसम्म चलेको इतर समूहको बैठकको निष्कर्षलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नेताहरूबीच निर्णायक छलफल हुन लागेको हो ।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा तीन दिनसम्म बसेको बैठकको निष्कर्षबारे निर्णय लिन उनले शुक्रबार इतर समूहमा रहेका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
शुक्रबार दिउँसो २ बजेका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको खड्काको सचिवालयले जनाएको छ । बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ ।
इतर समूहका नेता मीन विश्वकर्माले पनि शीर्ष नेताहरूको बैठक बस्न लागेको जानकारी दिए । ‘दिउँसो २ बजे शीर्ष नेताहरूबीच छलफल हुँदैछ,’ उनले भने, ‘तीन दिनसम्म चलेको बैठकको निष्कर्ष तयार गर्नेबारे छलफल हुन लागेको हो ।’
गत सोमबारदेखि बुधबारसम्म चलेको इतर समूहको बैठकमा इतर समूहको राष्ट्रिय भेलाको मिति तय हुनुपर्ने माग उठेको थियो । बैठक समापनका क्रममा नेता खड्काले शीर्ष नेताहरूसँग छलफल गरेर मिति तोकिने बताएका थिए ।
बैठकले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । इतर समूहका नेताहरू सहमतिका लागि नेतृत्व तयार नभए विकल्पमा समेत जानुपर्ने पक्षमा देखिन्छन् ।
प्रतिक्रिया 4