News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था वीर अस्पतालमा उपचाररत रहँदा अत्यन्तै चिन्ताजनक रहेको छ ।
- प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार नेपालीको शरीरको ६० प्रतिशत भाग जलेकाले उनी अहिले भेन्टिलेटरको सहायतामा उपचाररत छन् ।
- बिरामीको अवस्था स्थिर नभएकाले तत्कालका लागि उनलाई उपचारार्थ भारत लैजान सम्भव नभएको चिकित्सक टोलीले स्पष्ट पारेको छ ।
२६ असार, काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा समलग्न चिकित्सकले बताएका छन् ।
नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अझै स्थिर हुन नसकेको वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालले बताए ।
दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको छ । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
‘बिरामीको अनुहार, टाउको र घाँटीसमेत जलेको थियो । त्यसैले इमर्जेन्सीबाटै इन्टुबेट गरेर उपचार सुरु गर्यौं’, डा. दाहालले भने, ‘उपचारका क्रममा एकपटक बिरामीको अवस्था अत्यन्त अस्थिर बनेपछि सीपीआरसमेत गर्नुपरेको थियो । औषधिको सहायताले अवस्था केही नियन्त्रणमा ल्याएका छौं, तर अहिले पनि बीच–बीचमा स्वास्थ्य अवस्था अस्थिर भइरहन्छ र पुनः रिससिटेसन गर्नुपर्ने अवस्था छ ।’
उनका अनुसार नेपाली अहिले वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन् । चिकित्सकहरूले उनको अवस्थालाई ‘क्रिटिकल’ भन्दै कुनै पनि बेला थप जटिलता आउन सक्ने बताएका छन् । ‘प्रायः सबै सूचकले बिरामीको अवस्था राम्रो नरहेको देखाइरहेका छन्’, डा. दाहालले भने, ‘हामीले गर्नुपर्ने सबै उपचार गरिरहेका छौं । तर अहिलेको प्राथमिकता बिरामीलाई स्थिर बनाउनु हो ।’
नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा पनि छलफल भएको छ र तर स्वास्थ्य अवस्था अस्थिर रहेकाले तत्काल स्थानान्तरण सम्भव नभएको अस्पतालले स्पष्ट पारेको छ ।
डा. दाहालका अनुसार गम्भीर अवस्थाका बिरामीलाई हवाईमार्गबाट अर्को देश लैजानुअघि स्वास्थ्य अवस्था स्थिर हुन आवश्यक हुन्छ । ‘अनस्टेबल बिरामीलाई न हामीले पठाउन मिल्छ, न एयर एम्बुलेन्स वा विमानले लैजान स्वीकार गर्छ’, उनले भने, ‘यात्राका क्रममा थप जटिलता आए उपचार गर्न कठिन हुन्छ । त्यसैले अहिले आईसीयूमै राखेर आवश्यक सबै उपचार गरिरहेका छौं ।’
उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको अस्पतालले जनाएको छ ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया 4