२६ असार, काठमाडौं । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)ले राज्यका निकायको नालायकीका कारण मुगुका युवा गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको बताएको छ । शुक्रबार नेकपाका प्रवक्ता प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै मृतक नेपालीको आत्मदाहबारे पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
‘राज्यका निकायको नालायकी र असंवेदनशील व्यवहारबाट गहिरो रूपमा दु:खित, निराश र आक्रोशित भई आत्मदाह गर्न बाध्य कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका वडा नं. १ स्थायी घर भई रोजगारीको सिलसिलामा राजधानी काठमाडौंमा बस्दै आउनुभएका २५ वर्षीय युवा गणेश नेपालीको दु:खद निधन भएको घटनाले हाम्रो पार्टी अत्यन्त मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिउको छ, ‘दिवंगत गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति हाम्रो पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।’
यस्ता दु:खद् घटना हुनु नेपाली लोकतान्त्रिक अभ्यास र राज्यको चरित्रमाथि गम्भीर प्रश्न उठाउने विषय रहेको नेकपाले ठहर गरेको छ । ‘यो अत्यन्त दु:खद, निन्दनीय र भर्त्सनायोग्य घटना हो । अझ आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनिमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउने जस्ता अमानवीय व्यवहार गरिनु र निधन भइसकेपछि पनि वास्तविकता सार्वजनिक नगर्नुले यो घटना अझ हृदयविदारक बन्न पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
राज्य र आम नागरिकबीच अपनत्वको सम्बन्ध कमजोर बन्दै जानु तथा राज्यले भुइँतहका नागरिकको पीडा, संवेदना र आवाज नसुन्नुका कारण एकातिर गणेश नेपालीजस्ता नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न विवश भएको नेकपाले भनेको छ । ‘अर्कोतर्फ हजारौं सुकुम्बासी, भूमिहीन, श्रमिक तथा विपन्न नागरिक मर्नु न बाँच्नुको अवस्थामा जीवन बिताउन बाध्य छन्,’ विज्ञप्तिमा भनिएको छ ।
लोकतन्त्रको आधार नागरिकको सम्मान, सुरक्षा, गरिमापूर्ण जीवन, बाँच्न पाउने अधिकार, काम र रोजगारीको ग्यारेण्टी रहेको बताउँदै नेकपाले संविधानले परिकल्पना गरेका राज्यका आधारभूत दायित्व पनि यिनै विषय रहेको नेकपाले स्मरण गराएको छ ।
‘यिनै अधिकारको सुनिश्चितताका लागि हजारौँ नेपाली जनताले बलिदान दिएका हुन्,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तर आज कथित मध्यम वर्ग विस्तारका नाममा गरिब, मजदुर, सुकुम्बासी, दलित, जनजाति, मधेसी, थारू, बेरोजगार युवा लगायत उत्पीडित समुदायमाथि पीडा थप्ने, दमन गर्ने र हुकुमी शैलीमा शासन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको देखिनु अत्यन्त चिन्ताजनक छ ।’
नेकपाले आम नागरिकका समस्याप्रति संवेदनशील बन्न, विशेषगरी बेरोजगार युवा, सुकुमवासी, भूमिहीन, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ ।
प्रतिक्रिया 4