६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेस ‘प्रजातान्त्रिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’मा जानु भनेको पश्चगमन भएको टिप्पणी गरेका छन् । बुधबार बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नेपाली राजनीतिको चीरकालीक दर्शन रहेको निधिको भनाइ छ । त्यहीकारण कांग्रेसले बीपी कोइरालाको सधैँ सम्मान र बीपी विचार अनुशरण गरिरहेको उनले बताए ।
तर, पछिल्लो रास्वपाको चितवन महाधिवेशनमा ‘सामाजिक लोकतन्त्र’को प्रशंग उठेपछि त्यसलाई कांग्रेससँग जोडिएर बहस सुरु भएको भन्दै निधिले चिन्ता व्यक्त गरे ।
‘जब सामाजिक लोकतन्त्रको विचारधारा चितवन महाधिवेशनले तय गरेपछि वैकल्पिक शक्तिको सातौं रूपमा हो भनेर बहस भइरहेको छ । त्यसलाई प्रतिस्पर्धा कांग्रेसीले गर्नथाले–रास्वपा त दोस्रो हो, पहिलो त कांग्रेस हो । गगन थापा जसले सामाजिक लोकतन्त्रलाई कांग्रेसमा प्रवेश गराएको छ । त्यसकारण गगन थापा वैचारिक नेता हो,’ निधिले भने, ‘माफ गर्नुहोला नेपालमा केही शुक्राचार्य हुनुहुन्छ, शुक्राचार्यहरूले त्यसको व्याख्या गर्नुहुन्छ ।’
‘म यो भन्न चाहन्छु, बीपी स्मृति दिवसका अवसरमा सामाजिक लोकतन्त्रको एजेन्डा यदि कांग्रेसले ग्रहण गरेको छ भने त्यो अग्रगमन होइन, पश्चगमन हो,’ निधिले भने ।
नेपाली कांग्रेस बीपीको विचारप्रति प्रतिबद्ध हुने हो भने प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध हुनैपर्ने उनले बताए । ‘प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता कायम रहेन, प्रजातान्त्रिक समाजवादको सट्टा सामाजिक लोकतन्त्र एडप्ट गर्नु भनेको यो गर्व को कुरा होइन,’ उनले भने, ‘प्रतिगमन हो, पश्चगमन हो । म आरोप लगाउँछु, यसमा बहस होस् म चाहन्छु ।’
प्रतिक्रिया 4