News Summary
Generated by OK AI. Editorially reviewed.- नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीका कारण राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन् ।
- श्रेष्ठले प्रधानमन्त्रीको भारतको भूमि मिचेको अभिव्यक्ति झुट, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी गर्दै त्यसप्रति आत्मालोचना हुनुपर्ने माग गरेका छन् ।
- उनले सरकार समाजलाई विभाजित गर्दै फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि वामपन्थीहरू एकीकृत हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा हिँडेको भन्दै चर्को आलोचना गरे ।
उनले संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री बालेन साहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गरे ।
उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री साहले आत्मालोचना नगरेको तथा सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन र प्रमाणित गर्न खोजेको विषयमा अझै गम्भीर र सोचनीय रहेको बताए ।
उनले सरकारले समाजलाई विभाजित गर्दै राज्य फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको टिप्पणी गरे । उनले सरकारले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्था र संविधानको मूल्यमान्यता नै सिध्याउने गरी अघि बढिरहेको आरोप लगाए ।
उनले भने, ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि संविधान निर्माणमा भूमिका खेल्ने मुख्य दलहरूको भूमिका र दायित्वको विषयमाा हामीले गम्भीरतापूर्वक सोचेर अघि बढ्नुपर्ने बेला भएको छ । किनभने अहिले नेपालमा दुई वटा गम्भीर संकट र खतरा उत्पन्न भएको छ । एउटा, नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भइराखेको छ । राष्ट्रिय स्वाधिनतामाथि संकटको स्थिति उत्पन्न भइराखेको छ । देशको प्रधानमन्त्रीले नै संसद्को रोस्ट्रममा उभिएर नेपालले अर्को देशको भूमि धेरै ठाउँमा मिचेको छ भनेर सरासर झुट कुरा गर्छ र यो गैरजिम्मेवार, आपत्तिजनक, राष्ट्रघाती, घातक अभिव्यक्तिको बारेमा अहिलेसम्म आत्मालोचना गरिएको छैन । यो गम्भीर कुरा हो ।’
उनले थपे, ‘सत्तारुढ पार्टीका सांसद र नेताहरू त्यसै अभिव्यक्तिप्रति समर्थन गर्दै ताली ठोक्छन् र त्यस पछाडि नेपालले भारतको भूमि कहाँ-कहाँ मिचेको छ ? भनेर प्रमाण खोज्दै हिँडिरहेका छन् । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा, नेपालको राष्ट्रिय स्वाधिनताको आन्दोलनको इतिहासमा, नेपाली समाजलाई यति घातक ढङ्गले राष्ट्रिय स्वाधिनताको सवालमा विभाजित गर्ने काम कहिल्यै भएको थिएन, त्यसकारण गम्भीर संकट उत्पन्न भएको छ ।’
यसले फाँसीवादउन्मुख दिशातिर राज्यलाई लैजान खोजिएको छ भने अर्कोतिर राष्ट्रघातको दिशातिर देशलाई अगाडि बढाउन खोजिएको उनको तर्क छ ।
उनले भने, ‘फाँसीवाद खाली निरङ्कुश तन्त्र मात्रै होइन, फाँसीवाद सरकारले गरेको राष्ट्रघात र गलत कामकारवाहीको पक्षमा उभिने गरी तयार गर्ने र राज्यलाई त्यसको बल प्राप्त हुने स्थितिले फाँसीवाद पैदा गर्छ । नेपाल त्यसकारण फाँसीवादतिर उन्मुख हुँदै गइरहेको छ ।’
उनले राष्ट्रिय स्वाधिनता र व्यवस्थाको रक्षाको लागि सबै देशझक्त, बामपन्थीहरू एकीकृत हुन आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4