७ साउन, काठमाडौं । मल लिन जाँदा भारतीय जेलमा परेका नेपाली किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई अविलम्ब रिहाइको पहल गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार कांग्रेसका केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक ध्यानाकर्षणपत्र जारी गर्दै ‘भारतीय जेलमा रहेका नेपाली किसानको शीघ्र रिहाइ र मल समस्या हल गर्न सरकार’को ध्यानाकर्षण गराएका हुन् ।
‘भारतीय जेलमा रहेका नेपाली कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई अविलम्ब रिहाइको पहल गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ,’ कांग्रेसले जारी गरेको पत्रमा भनिएको छ, ‘बजारमा समयमै रासायनिक मल नपाएपछि सर्लाही बलराका यी दुई कृषक सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका छन् ।’
भारतीय बजारमा मल लिन गएका नेपाली किसानद्वय सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय जेलमा रहेको समाचार बिहीबार अनलाइनखबरमा प्रकाशित भएको थियो ।
कांग्रेसले विगत २० दिनदेखि बिहार, सीतामढी, डुमरास्थित भारतीय जेलमा उनीहरूलाई राखिरहेको तथ्य बाहिर आएपछि परिवार र स्थानीय समुदायसँग समेत जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
‘ती किसान दाजुभाइ आफ्नो खेतमा प्रयोग गर्नको लागि मल लिन जानु भएको रहेछ । किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेसले भनेको छ ।
छिमेकी देशबाट दुई बोरा युरिया र डीएपी मल किनेर मलको जोहो गर्न बाध्य दुई जना किसानलाई पक्राउ गरी जेलमा राखेको २० दिन पुग्दा समेत तदारुकताका साथ पहलकदमी हुन नसक्नु दु:खद विषय रहेको कांग्रेसले भनेको छ । ‘मल गोदाममा, किसान जेलमा अत्यन्त बिडम्बना हो,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सरकारले उनीहरूको रिहाइ एवं समस्या समाधानमा व्यवहारिक, कुटनीतिक र कानुनी प्रक्रिया मार्फत् तत्काल पहलकदमी लिन कांग्रेसले आग्रह गरेको छ ।
यस्तै, भारत सरकारलाई पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिक बीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखेर केवल आफ्नो खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई अविलम्ब रिहा गर्न कांग्रेसले आग्रह गरेको छ ।
प्रतिक्रिया 4