News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वकप्तान तथा विश्वकप विजेता जिनेदिन जिदान फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
- जिदानले सन् २०३० को विश्वकप छनोटसम्मका लागि सम्झौता गरेका छन् भने उनको पहिलो खेल सेप्टेम्बर २५ मा टर्कीविरुद्ध हुनेछ ।
- फ्रान्सेली फुटबल महासंघले जिदानलाई जीवित किंवदन्तीको संज्ञा दिँदै उनको नेतृत्वमा टोलीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।
१२ साउन, काठमाडौं । पूर्वकप्तान तथा विश्वकप विजेता जिनेदिन जिदान फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताएका तथा १४ वर्षसम्म टोली सम्हालेका दिदिएर डेसच्याम्प्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि पद छाडेका थिए । त्यसपछि फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
सन् १९९८ मा फ्रान्सलाई पहिलो विश्वकप उपाधि दिलाउने नायक जिदान सन् २०२१ मा रियल मड्रिड छाडेपछि प्रशिक्षकको भूमिकाबाट टाढा थिए । ५४ वर्षीय जिदानले सन् २०३० विश्वकप छनोटसम्म रहने गरी सम्झौता गरेका छन् ।
नियुक्तिपछि जिदानले फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु आफ्नो लागि ठूलो गौरव र जिम्मेवारी भएको बताए । उनले फ्रान्सेली फुटबल महासंघले आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिँदै डेसच्याम्प्स र उनको प्रशिक्षक समूहले १४ वर्षमा पुर्याएको योगदानको प्रशंसा गरे । साथै आफ्ना सबै प्रशिक्षकप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय टोलीसँग आफूले उच्च महत्वाकांक्षा राखेको बताए ।
फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले जिदानलाई फ्रान्सेली फुटबलको ‘जीवित किंवदन्ती’ भन्दै उनको आगमनले राष्ट्रिय टोलीलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे ।
डेसच्याम्प्सको नेतृत्वमा फ्रान्सले तीन प्रमुख प्रतियोगिताको फाइनल खेलेको थियो । उनले सन् २०१८ मा टोलीलाई दोस्रो विश्वकप उपाधि दिलाएका थिए भने विश्वकप २०२६ मा फ्रान्स चौथो स्थानमा सीमित भएको थियो ।
जिदानको प्रशिक्षणकालको पहिलो प्रतिस्पर्धात्मक खेल सेप्टेम्बर २५ मा यूईएफए नेसन्स लिगअन्तर्गत टर्कीविरुद्ध हुनेछ ।
-बीबीसीबाट
प्रतिक्रिया 4