News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
- नेकपाका १४ र एमालेका १० सांसदको समर्थनमा शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् ।
- सशस्त्र द्वन्द्वमा समेत सक्रिय शाहीले शिक्षण पेसा छोडेर राजनीतिमा होमिएका थिए भने अहिले उनी नेकपाको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
१४ साउन, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ लिइरहँदा उनी केही भावक देखिए । यहाँको राजनीतिक घटनाक्रम जसरी विकसित भयो, र उनले मुख्यमन्त्री बन्ने अवसर पाए, त्यसलाई हेर्दा शाही भावक देखिनु स्वभाविक हो ।
पहिलोपटक सांसद रहेका शाही ५ महिना अघि मात्रै प्रदेश संसदीय दलको नेता चयन भएका थिए । त्यसैले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भए ।
यदि राजनीतिक सिधा रेखामा हिडेको थियो भने उनी अहिले मुख्यमन्त्री बन्नु लगभग असंभवजस्तै थियो । किनकि पार्टीभित्र उनी भन्दा सिनियर नेता अरू थिए ।
०७९ सालको चुनावपछि राजकुमार शर्मा प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए । यही मन्त्रिपरिषदमा मंगलबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्ने अवसर पाएका थिए । मन्त्री पद आफैमा उपलब्धि थियो ।
तर यही कार्यकालमा मुख्यमन्त्री बन्ने अवसर स्वयं शाहीले पनि कल्पना गरेका थिएनन् । एक साता अघिसम्म पनि उनी नेपाली कांग्रेसका नेता जीबनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन अभियान चलाउँदै थिए ।
राजनीतिक घटनाक्रमले भने मंगलबहादुर आफै मुख्यमन्त्री बन्नुपर्ने स्थिति आयो । ४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाका १४ र एमालेका १० सांसदको समर्थनमा शाही पाँचौ मुख्यमन्त्री बने ।
सर्प्राइज मुख्यमन्त्री
०७९ को निर्वाचनमा मुगु (ख) बाट निर्वाचित शाहीले एमालेकै कर्णबहादुर मल्ललाई पराजित गर्दै जितेका थिए । कांग्रेसको समर्थन पाएका शाहीले ८ हजार ४२९ मत पाएर प्रदेश सांसद जित्दा एमालेका मल्लले ४ हजार ८८४ मत पाएका थिए ।
कांग्रेसकै पनि भोट पाएर जिते लगत्तै उनी मन्त्री बन्ने अवसर पनि पाए । तर, केन्द्रीय राजनीतिमा आएको परिवर्तनका कारण कर्णालीमा कांग्रेस र एमालेको सरकार बन्यो ।
एक साता अघिसम्म एमाले नेता कँडेल मुख्यमन्त्री थिए । एमाले–काँग्रेसले आलोपालो गर्ने भनेकाले यहाँ नेकपा सरकारमा जाने र शाही मुख्यमन्त्री बन्ने कुनै सम्भावना थिएन ।
तर गत ३१ असारमा कांग्रेस तर्फका चार मन्त्रीले अप्रत्यासित सामूहिक राजीनामा गरे । काँग्रेससरकारबाट बाहिरिएपछि कँडेललाई हटाएर कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाइयो ।

नेकपाका ११ र काँग्रेसका ५ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराए । यो प्रक्रियाको नेतृत्व गर्ने पंक्तिमै थिए मंगलबहादुर । प्रदेश सभामा बहुमत जुटाउन नसक्ने देखिएपछि गत ९ साउनमा कँडेलले राजीनामा दिए । कँडेलले राजीनामा दिनुअघिसम्म कर्णालीमा काँग्रेस र नेकपा गठबन्धनको सरकार बन्ने पक्का थियो ।
तर कँडेलले राजीनामा दिएको दुई घण्टा नबित्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तीन बुँदे सहमतिपत्रमा भएको हस्ताक्षर सार्वजनिक भयो । सहमतिअनुसार काँग्रेसलाई सघाउने भनेको नेकपा स्वयंले सरकारको नेतृत्व गर्ने अवसर जुर्यो ।
सहमतिसँगै सरकारको नेतृत्व गर्न तयार काँग्रेस प्रमुख प्रतिपक्षी दल बन्न पुग्यो । आफैले अविश्वासको प्रस्ताव ल्याएर राजीनामा दिन बाध्य पारेको एमालेकै सहयोगमा शाही मुख्यमन्त्री भए ।
शाहीलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बन्ने अवसर भने आन्तरिक संकटका कारण आइलागेको थियो । माओवादी र एकीकृत समाजवादी सहितको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै राजकुमार शर्माले संसदीय दलको नेताबाट राजीनामा दिए ।
गत १७ मंसिरमा राजीनामा दिएर शर्मा जनार्दन शर्मातिर लागे । संसदीय दल नेतृत्वविहीन बन्यो । यसपछि मंगलबहादुर शाही दलको नेता चुनिएका थिए । जुनबेला अहिले जस्तो सत्ता समीकरण बन्ने र मुख्यमन्त्री पाउने कुनै गुञ्जायस नै थिएन ।
शिक्षकदेखि सशस्त्र युद्धसम्म
मुगुको सोरु गाउँपालिका—६, सोरुकोटमा जन्मिएका शाही पढेलेखेका सानो पंक्तिमै पर्थे । १६ भदौ २०२५ मा जन्मिएका शाहीले ३ कक्षासम्म गाउँकै सोरुकोट प्राविमा पढे ।
२०४४ सालमा पढ्नकै लागि जुम्ला झरेका उनले चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी गरे । यसपछि उनी राजधानी काठमाडौँ हानिए । नेपाल ल क्याम्पसमा भर्ना भए ।
दुई वर्ष नेपाल ल क्याम्पसमा अध्ययन गरेका उनी तत्कालीन माले निकट अनेरास्ववियु पाँचौंमा सङ्गठित भए । २०४५ सालको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भए ।
अर्को वर्ष मुगु फर्किएर शिक्षण पेसामा लागे । शिक्षणसँगै उनी पार्टी संगठनमा पनि आवद्ध रहे । २०४६ सालको परिवर्तनले राजनीतिलाई सहज बनायो ।
अनेरास्ववियु एकताको छैटौँ राष्ट्रिय सम्मेलनमा उनी सहभागी भए । मार्क्सवादी र माले मिलेर एमाले बन्यो । उनी एमालेका सदस्य बने । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आबद्ध भए ।
२०४८ र २०५१ सालमा दुवै निर्वाचनमा मुगुबाट कांग्रेसले जित्यो । एमालेमा आस्था राख्ने शिक्षकहरूलाई दु:ख दिने काम भयो ।
दुई वर्ष अस्थायी र ११ वर्ष स्थायी गरी १३ वर्षमा उनले १६ वटा विद्यालयमा पढाए । ‘६–६ महिनामा काजमा पठाउने, सरुवा गरिदिने काम भयो,’ उनी सम्झिन्छन् ।
२०५६ को चुनावमा चन्द्रबहादुर शाही एमालेका उम्मेदवार थिए । शाही विजयी भए । तर निर्वाचनको प्रक्रियामा झडप भयो । ज्यान मार्ने उद्योगको मुद्दा लगाएर ९ दिन हिरासतमा शाहीले पनि हिरासत बस्नु पर्यो ।
छुटिसकेपछि आफ्नै दलका नेताबाट अपमानित हुनुपर्दा उनमा बदलावको भावना आयो । चिनजानका केही साथी माओवादीतिर भूमिगत भइसकेका थिए । भेट भइरहन्थ्यो । २०५८ सालमा शाही पनि पढाउन छोडेर भूमिगत भए ।
नाफाको जिन्दगी
२०५९ सालमा माओवादीको जिल्ला कमिटी सदस्य भएका उनी सशस्त्र विद्रोहका बेला केही लडाइँमा सहभागी थिए ।
२०५९ सालमा डोल्पाको माझफाल घटनामा ७ जना सहयात्री गुमाएको उनी सम्झिन्छन् । ‘जतिखेर हामी जनयुद्धमा थियौँ । त्यतिखेर मेरो बुबालाई प्रशासनले पक्राउ गर्न भनेर ताकेता गर्थ्यो, बुबा चाहिँ भागेर हिँड्नुपर्थ्यो,’ शाही भन्छन् ।
गाउँमा बस्न नसकेपछि उनका बुबा बिस्थापित भए । थुप्रै पटक तत्कालीन शाही नेपाली सेनाको घेराबाट बचेका उनी भन्छन्, ‘हाम्रो जिन्दगी त नाफाको हो । मृत्युलाई जितेर आएको हो, यो देशको राज्य सत्ता बदल्न ।’
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा उनले मुगु जिल्ला कमिटीको जिम्मेवारी पाए । अहिले उनी नेकपाका केन्द्रीय सदस्य छन् ।
यो बीचको अवधिमा भने उनी माओवादीबाटै पनि टाढा हुन पुगेका थिए । मोहन वैद्यतिर लागेर २०७० सालको चुनाव बहिष्कार गर्न अभियानमै हिडे । त्यस क्रममा १८ दिन हिरासतमा बस्नुपर्यो ।
२०७१ मा फेरि उनी माओवादीमा फर्किएका उनले १२ वर्ष नपुग्दै मुख्यमन्त्री बन्ने अवसर पाए ।
प्रतिक्रिया 4