१५ साउन, काठमाडौं । पाकिस्तानको क्वेटा जिल्लास्थित सोरेन्ज क्षेत्रको कोइला खानी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले मृतकहरूको शव फेला परेको बताएका छन्। हिजो यस क्षेत्रमा भएको दुर्घटना क्षतिका हिसाबले यो वर्ष बलुचिस्तानमा भएको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना हो।
पीडीएमएका अपरेशन म्यानेजर मोहम्मद फहदले शुक्रबार बिहान भने, “थप दुई जना खानी मजदुरको शव निकाल्न रेस्क्यु अपरेशन जारी छ।”
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले खानी तथा खनिज विभागसँग तुरुन्तै रिपोर्ट मागेका छन्। उनले दुर्घटनाको कारण र यसका लागि जिम्मेवार मानिसहरूको पहिचान गर्न पारदर्शी छानबिनको निर्देश दिएका छन्।
बलुचिस्तानका खनिज मन्त्री मिर शोएब नोशिरवानीले दुर्घटनामा मारिएका मजदुरका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेहरूलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएका छन्।
सोरेन्ज बलुचिस्तानको राजधानी क्वेटाबाट करिब ४० किलोमिटर पूर्वमा पर्छ। यो ठूलो संख्यामा कोइला खानीहरू भएको एउटा पहाडी क्षेत्र हो।
सोरेन्ज र यसको आसपासका क्षेत्रमा पहिले पनि कोइला खानी दुर्घटनाहरू भइसकेका छन्।
प्रतिक्रिया 4