News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सुनसरी र मधेशका जिल्लामा विकसित घटनाक्रम र सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभयो।
- सभामुख विष्टले जारी गरेको विज्ञप्तिमा नेपाली समाज आपसी भाइचारा र सहिष्णुतामा अडिएकाले कुनै पनि प्रकारको हिंसा र अविश्वासले सामाजिक सद्भाव कमजोर बनाउने उल्लेख गर्नुभयो।
- उनले समस्याको समाधान शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानूनको पालनाबाट मात्र सम्भव हुने बताउँदै सबै पक्षलाई संयमित हुन र शान्ति कायम राख्न आग्रह गर्नुभयो।
१५ साउन, विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सुनसरीसहित मधेशका जिल्लाहरूमा विकसित भएका घटनाक्रम र त्यसले निम्त्याएको सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभामुख विष्टले कोशी प्रदेशको सुनसरी तथा मधेश प्रदेशका सिराहा, सप्तरी लगायतका क्षेत्रमा भएका दु:खद घटनाहरूप्रति दु:ख व्यक्त गर्दै सामाजिक एकता कायम राख्न अपिल गरेका हुन् ।
‘नेपाली समाज सदियौंदेखि विभिन्न भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी भाइचारा र सहिष्णुतामा अडिएको छ,’ उनले भनेका छन्, ‘कुनै पनि किसिमको हिंसा, तनाव र अविश्वासले कसैको पनि भलो गर्दैन, यसले केवल हाम्रो सामाजिक सद्भावलाई कमजोर बनाउँछ र विकासको गतिलाई अवरुद्ध पार्छ ।’
उनले जुनसुकै समस्या वा असमझदारीको समाधान शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानूनको पालनाबाट मात्र सम्भव हुने बताएका छन् ।
सभामुख विष्टले उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भन्दै सबै पक्षलाई संयमित हुन र शान्ति कायम राख्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4