+
+
Shares

भ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, आधिकारिक सूचनामा विश्वास गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंकले केही सञ्चारमाध्यममा बैंकका पदाधिकारी र व्यवस्थापनविरुद्ध प्रकाशित समाचार भ्रामक तथा अतिरञ्जित भएको भन्दै पूर्ण रूपमा खण्डन गरेको छ।
  • बैंकले कर्मचारी सरुवा र कर्जा असुली जस्ता कार्यहरू नियमित र कानुनसम्मत व्यावसायिक प्रक्रिया भएको स्पष्ट पारेको छ।
  • बैंकले सत्यतथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न तथा आधिकारिक सूचनालाई मात्र आधार बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।

१९ साउन, काठमाडौं । प्रभु बैंकले केही सञ्चारमाध्यममा बैंकको सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले सत्यतथ्यको पर्याप्त पुष्टि नगरी एकपक्षीय, अतिरञ्जित तथा भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै त्यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ।

भ्रामक समाचारले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकप्रतिको सार्वजनिक विश्वास तथा नियामकीय निकायहरूप्रति अनावश्यक भ्रम सिर्जना गर्ने दुष्प्रयास भएको बैंकले जनाएको छ।

प्रभु बैंकका अनुसार कर्मचारी सरुवा, कार्यजिम्मेवारीको समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया सञ्चालन तथा धितो लिलामी सूचना प्रकाशनलगायतका कार्य बैंकिङ व्यवसायका नियमित र कानुनसम्मत संस्थागत अभ्यास हुन्।

यस्ता नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियालाई कुनै आधार, प्रमाण वा आधिकारिक पुष्टि बिना वास्तविकताभन्दा फरक ढङ्गले प्रस्तुत गर्नु तथ्यपरक पत्रकारिता र व्यावसायिक आचारसंहिताविपरीत हुने बैंकको भनाइ छ।

बैंकले विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको र सम्बन्धित मुद्दा सक्षम अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै नियामकीय व्यवस्था तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपाय प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणाली विकासमा बैंक प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सबै निर्णय सम्बन्धित कानुन, नियामकका निर्देशन तथा नियामकीय मापदण्डअनुसार नै हुँदै आएको र भविष्यमा पनि सोहीअनुरूप सञ्चालन हुने प्रतिबद्धता बैंकले दोहोर्‍याएको छ।

सञ्चारमाध्यमलाई तथ्य, विश्वसनीयता र सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै बैंकले अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा वित्तीय प्रणालीप्रति नै अनावश्यक भ्रम र नकारात्मक धारणा सिर्जना हुन सक्ने जनाएको छ।

बैंकले निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी, ग्राहक, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालालाई बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचारका लागि बैंकबाट आधिकारिक रूपमा जारी गरिएका सूचना तथा विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेको छ।

साथै, संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित पत्रकारिताको मूल्यमान्यता, व्यावसायिक आचारसंहिता तथा नैतिक जिम्मेवारीलाई आत्मसात् गरी जिम्मेवार समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई बैंकले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?