+
+
Shares
'मिस नेपाल कस्मो' कशिश सुब्बासँग संवाद : :

‘कस्मोको मञ्चमा नेपालको दिगो फेसन र उद्यमशिलताका इस्यु उठाउँछु’

विजेताको नाम घोषणा हुँदा कशिशले खुसीका आँसु झरिन् । फिनालेको यो रोलर-कोस्टर क्षणबारे उनलाई सोधियो : यस्तो किन भयो ? के तपाईं दबाब महसुस गर्नुभएको थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १६:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ वर्षिया कशिश सुब्बाले शनिबार घरेलु सौन्दर्य प्रतियोगिता 'मिस नेपाल कस्मो २०२६' को उपाधि जितेकी छिन् ।
  • यो जितसँगै उनले आउँदो २५ डिसेम्बरमा भियतनाममा हुने मिस कस्मोको अन्तर्राष्ट्रिय स्पर्धामा मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।
  • फेसन डिजाइनकी विद्यार्थी कशिशले मिस कस्मोमा दिगो फेसन र वातावरण संरक्षणको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने योजना बनाएकी छिन् ।

काठमाडौं । कशिशको अर्थ हिन्दीमा नशा र आकर्षण भन्ने हो । हिन्दी सिरियल धेरै हेर्ने भएकाले घरमा उनको त्यो नाम राखिएको थियो । ठूलो भैञ्जेलसम्म कशिशलाई नामको अर्थसँग मतलब थिएन ।

अहिले भने उनै कशिश सुब्बाले आफ्नो नाममा आकर्षण थपेकी छिन् । शनिबार यी २१ वर्षिया सुन्दरीले घरेलु सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल कस्मो २०२६’ को उपाधि जितिन् ।

फिनालेमा कशिशको प्रस्तुतिमा उतारचढावपूर्ण देखिएपनि अन्ततः उनले इतिहास आफ्नो पक्षमा पारिन् । यो जितसँगै उनले २५ डिसेम्बरमा भियतनाममा हुने मिस कस्मोको अन्तर्राष्ट्रिय स्पर्धामा मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।

ताज जितेपछि अनलाइनखबरको स्टुडियोमा कशिश जितबारे सुनिइन् । सुरुमै उनलाई सोधियो- यो जितले के अर्थ राख्छ ?

उनले आफ्नो जितलाई ‘आशा’को रुपमा वर्णन गरिन् । ‘मैले गरेको ५० दिनको मिहेनत हो यो । मैले आफूलाई मिस नेपाल बनेको देख्नुभन्दा पहिल्यै मेरो मेन्टर सोनम सुब्बाले त्यो देखिसक्नुभएको थियो । उहाँले दिनरात नभकिन मेरो लागि कस्ट्युम तयार पारिदिनुभयो’ कशिशले भनिन् ।

यदि तपाईंले फिनाले हेर्नुभएको थियो भने, अन्तिम राउन्डमा हामीले कशिशको अनुहारमा उत्साह र डरको भाव मिसिएको देखेका थियौं । प्रश्नोत्तरमा केही उतारचढाव आएपनि कशिशले आफूलाई सम्हालिन र गजबको कमब्याक गरिन् ।

विजेताको नाम घोषणा हुँदा कशिशले खुसीका आँसु झरिन् । फिनालेको यो रोलर-कोस्टर क्षणबारे उनलाई सोधियो : यस्तो किन भयो ? के तपाईं दबाब महसुस गर्नुभएको थियो ?

उनको जवाफ थियो- डर र साहसको प्रश्न आएको थियो । यो सुन्ने वित्तिकै यो प्रश्न मेरो लागि नै बनेको रहेछ भन्ने लाग्यो । मैले फियर र करेजबारे तयार गरिरहेकी थिएँ । प्रश्न सुन्ने वित्तिकै मभित्र संवेदना आयो । म पर्फेक्ट छु भन्ने कहिल्यै लाग्दैन । म आफैलाई विश्वास मान्ने मान्छे हुँ ।’

उनले अघि भनिन्, ‘म आफ्नो कमजोरी बुझ्छु । त्यो कमजोर देखेपछि मनमा जे लागेको थियो, त्यो भनेँ । पज लिएँ तर माइन्डसेट कायमै राखने । म भनेको बलियो मान्छे हो भन्ने भ्वाइसले उत्तरलाई पूर्णता दिएँ ।’

कशिश मिस नेपालको ताज जित्नुको अर्थ, आफूमाथि मिस नेपाल आयोजक र मिस कस्मोको टिमले गरेको विश्वासको नतिजा रहेको बताउँछिन् । ‘यो ताजसँगै ठूलो उत्तरदायित्व आइलागेको छ । मलाई जुन विश्वासहित यो जिम्मा दिनुभएको छ, त्यही विश्वाससहित आफूमाथि धेरै विश्वास गरेर अघि बढ्छु र ताजको भ्यालु बढाउनेछु’ उनी भन्छिन् ।

उपाधिका लागि करिब ५० दिन गरेको मिहेनत सुनाउँदा उनी भावुक भइन् । धेरैले बल्ल २१ वर्षकी भयौं, मिस नेपालमा कम्पिट गर्न अझै समय बाँकी छ भन्ने गरेको सुनाउँदै कशिशले दाई र दिदीले अहिल्यै भाग लिनुपर्छ भनेर प्रोत्साहन दिएको बताइन् ।

आफू अहिल्यै मिस नेपालमा आउने तयारीमा नरहेपनि धेरै छोटो समयमा गृहकार्य गरेको अनुभव बाँडिन् । ‘जिन्दगीमा केही न केही गर्नुपर्छ भन्ने महत्वाकांक्षी मान्छे हुँ म’ भन्छिन्, ‘यसवर्ष मिस नेपालमा आउँछु भन्ने लागेकै थिएन । दाइ र दिदीले प्रोत्साहन दिनुभयो । हिँडेरै अडिसन दिन पुगेँ ।’

सार्वजनिक थलोमा बोल्न नसक्ने आफ्नो कमजोरी रहेको सुनाउँदै उनले आफूले आफूलाई विश्वास गरेर मात्र अघि बढेको बताइन् । ‘अब आफूलाई विश्वास गर्छु र हजार प्रतिशत मिहेनत गर्छु भनेर ज्वाइन भएँ’ उनले भनिन् ।

हरेक समय आफूलाई शंका गर्ने प्रवृत्ति आफ्नो कमजोरी रहेको उनको भनाइ छ । ‘जहिले पनि नेपालमा मिस नेपाल भएपछि राम्रो बोल्नुपर्ने, कम्युनिकेसन बलियो हुनुपर्छ भन्ने थियो’ अघि भन्छिन्, ‘मलाई मिस नेपाल कस्मो बनाउनुभएको छ । तिमीले गर्न सक्छौ भन्ने सन्देश यसले दिएको छ ।’

उनको प्रक्षेपण छ- के थाहा, हामी भोलि गएर मिस वर्ल्ड , मिस कस्मो पो हुन सक्छौं कि ?

कशिश फेसन डिजाइनको विद्यार्थी हुन् । उनी मिस कस्मो प्रतिस्पर्धामा टेक्सटाइलको कारण वातावरणमा हुने प्रदूषणको मुद्दालाई प्रस्तुत गर्न चाहन्छिन् । फेसनको विद्यार्थीको रुपमा उनले देखेको यो ज्वलन्त विषय हो । मिस कस्मोको ग्रीन समिटमा वातावरण र दिगोपनको मुद्दा उठाउने उनको सोच छ । ‘म फेसनको विद्यार्थी भएकाले यो इस्यु उठाउनेछु’ उनी भन्छिन् ।

यसबाहेक, कशिशले अहिले वातावरणलाई दिगोपन राख्ने जमर्को गरेकी छन् । खेर गएका सामानको पुनःप्रयोगमार्फत आकर्षक र टिकाउ सामान बनाएर उत्पादन गर्ने कार्यमा उनी सरिक छिन् । विद्यार्थीको लागि नेपालमा पार्ट-टाइम जब नभएकाले त्यस्ता उत्पादन बनाएर बिक्रीमार्फत आउने रकम विद्यार्थीलाई तलबको रुपमा दिने गरेकी छन् ।

अहिले दुईजना विद्यार्थीलाई मासिक १५/१५ हजार रुपैयाँ तलब दिन्छिन् । एकातिर दिगोपन र अर्कोतिर रोजगारी, यी दुबै कार्यमा कशिशको सक्रियता प्रेरणादायी छ ।

‘यही कुरालाई, यो देशमा वातावरण पनि संरक्षण होस् र युवाले पकेट मनीसम्म रोजगारी पनि पाऊन । दिगो फेसनले कसरी युवालाई सहयोग पनि पुयाउँछ भन्ने छ’ उनी भन्छिन् । निकट भविष्यमा घरमै बस्ने महिलालाई तालिम दिएर उनीहरूलाई स्वालम्बी तुल्याउने उनको सोच छ ।

भिडियो तथा तस्वीर : शंकर गिरी
सम्पादन : नवराज महरा
ग्राफिक्स : अविकृत मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?