News Summary
Generated by OK AI. Editorially reviewed.- शिल्पी थिएटरले फ्रान्सेली नाटककार ज्याँ पल सार्त्रको नाटक ‘ला पुतान रेस्पेक्त्युज’मा आधारित नाटक ‘मिस मेनुका’ मञ्चन भइरहेको छ ।
- कल्पना घिमिरे नुरिस्सोँद्वारा रूपान्तरित र पवित्रा खड्काद्वारा निर्देशित यस नाटकले शक्ति र जातीय विभेदका कारण समाजमा सत्य कसरी दबाइन्छ भन्ने विषय उठान गरेको छ ।
सन्दर्भका लागि,
मेनुका यौनकर्मी हुन् । नाटककी केन्द्रीय पात्र पनि । सत्य बोल्नु उनको स्वभाव हो । तर सामाजिक दबाब र शक्तिशालीहरूको प्रभावले उनी स्वभावमा अडिइरहन सक्दिनन् । र, आफ्नो स्वतन्त्रता गुमाउन पुग्छिन् ।
विवेक जंग शर्मा, सांसद जगनन्नाथ शर्माको छोरो र गौरवको दाइ हो । मेनुकाको ग्राहक पनि ।
जगनन्नाथ शर्मा सांसद तथा राजनीतिज्ञ भइहाले । गौरवको काका । यिनी मीठा कुरा गर्न बडो खप्पिस छन् ।
गौरव, जगनन्नाथ शर्माको भतिजा । रात्रीबस चढेर काठमाडौं आउँदै गर्दा बसमा उनले तराईंका एक युवालाई मारेका हुन्छन् ।
अर्बिन्द पासवान तराईवासी दलित युवा हुन् । उनी रात्रीबसमा घटेको घटनाको साक्षी हुन्छन् । र, जगनन्नाथको परिवारले गौरवले गरेको हत्याको आरोप उनैमाथि लगाइरहेको हुन्छ । त्यसबाट बँच्न उनले मेनुकालाई गुहारिरहेका हुन्छिन् ।
नाटकमा प्रहरीहरू पनि छन् । तर, उनीहरूको भूमिका जगनन्नाथ शर्माको जाललाई सहयोग गर्नेमा मात्र सीमित छ।
र, यी पात्रहरू सम्मिलित नाटक मिस मेनुका : एक संवेदशीलन यौनकर्मी संवेदनशील छ ।
शीर्षकमा यही शब्द राखिएर होइन कि विषय उठानका आधारमा । प्रस्तुतीका आधारमा । नाटक हेरिरहँदा सकस र उकुसमुकुस भएन भने सम्बन्धित दर्शकले आफ्नोबारे सोच्नु पर्ने कुरा हो, भए विषयमाथि छलफल तथा बहस गर्नु नाटकको सूक्ष्म सामर्थ्य हो ।

हो, मिस मेनुका संवेदनशील छ । त्यसैले त ४० वर्षअघि सुनिल पोखरेलको निर्देशनमा आरोहण शनिबार समूहले मञ्चन गरेको यो नाटक तत्समयमा स्वेछिक स्थगन गरिएको थियो ।
अहिले तत्कालीन पञ्चायतकालीन संवेदनशीलता छैन । दर्शकहरूले नाटकलाई हेर्ने तरिकामा पनि थोरबहुत बदलाव आयो । विषयको संवेदनशीलता भने कतै न कतै रहिरह्यो । र, हुन सक्छ यी कारण नै शिल्पी थिएटरले पुन: यो नाटक मञ्चन गर्न तदकरुपता देखायो ।
000
मिस मेनुका फ्रान्सेली नाटककार ज्याँ पल सार्त्रको ला पुतान रेस्पेक्त्युजको नेपाली रुपान्तरण हो ।
सार्त्रले यो नाटक १९४६ तिर लेखेका थिए – १९३१ को स्कट्सबरो केसबाट प्रेरित भएर । त्यस घटनामा ९ जना काला युवकहरूलाई दुई सेता यौनकर्मीहरूले बलात्कारको झुटो आरोप लगाएका थिए । यो नाटक लेख्नुअघि सार्त्रले अमेरिका भ्रमण गरेका थिए । त्यहाँ उनी आफैंले जातिवाद र रंगभेद देखेका थिए । त्यसपछि नै उनले यो नाटक लेखेका थिए । आज विभिन्न देशमा मञ्चन भइसकेको सोही नाटकमा आधारित रहेर नेपालमा मिस मेनुका मञ्चन गरिएको हो ।
कल्पना घिमिरे नुरिस्सोँको नाट्य रुपान्तरण र पवित्रा खड्काको निर्देशनमा तयार पारिएको यो नाटकलाई सकेसम्म नेपालीपनमा ढाल्न खोजिएको छ । यसका लागि पात्रहरूको नेपाली नामांकन गर्नुका साथै यहाँको सामाजिक, राजनैतिक, साम्प्रदायिक र सांस्कृतिक यथार्थलाई मूल नाटकसँग जोड्न खोजिएको छ ।
000
यो नाटकले एउटा यौनकर्मीको नजरबाट समाजको विभेदकारी संरचनालाई देखाउँछ । जातीय र भौगोलिक रूपमा पछि पारिएकाहरूको व्यक्तिगत पीडा देखाउँछ । र, समाजको पाखण्ड र शक्तिको असमान संरचनामाथि ठूलो प्रश्न चिह्न खडा गर्छ ।

कति सजिलै शक्तिमा रहेकाहरूले आफ्नो प्रतिकूल रहेको घटनालाई अनुकुल बनाउन लागि पर्छन्; त्यसका लागि उनीहरू कुन तहसम्म गिर्न तयार हुन्छन्; अथवामा सत्यलाई कसरी झुटमा बदल्छन् भन्ने कुरा नाटकले बुझाउँछ ।
किनकि जब गौरवले तराईं मुलका युवालाई बसमा हत्या गर्छ, समाजले तुरुन्तै कथालाई उल्ट्याइदिन्छ – तराईं मुलका युवाहरूले मेनुकालाई बलात्कार गर्न खोज्दा सुरक्षाका लागि मोहनले गल्तीवस हत्या गर्न पुगेका थिए । यसपछि झुटो कथा यति सहजै स्वीकृत हुन्छ कि सत्य गौण बन्छ ।
यसले स्पष्ट पार्छ – जातिवाद, व्यक्तिगत घृणासँगै यो एउटा व्यवस्थित प्रणाली भइसकेको छ, जसले शक्तिशालीलाई जोगाउन र कमजोरलाई अपराधी बनाउन सधैं तयार रहन्छ ।
अर्को नजरबाट हेर्दा नाटकको शीर्षकमै ठूलो व्यङ्ग्य लुकेको छ ।
मेनुका यौनकर्मी हुन् । समाजले उनलाई अपमानित ठान्छ । तर सांसद, उसको छोरो विवेक र प्रहरीजस्ता ‘सम्मानित’ मानिने मान्छेहरू सबैभन्दा अनैतिक देखिन्छन् । उनीहरू झुटो बोल्छन्, हत्या ढाक्छन् र पैसा र आश्वासन दिएर अरुलाई किन्न खोज्छन् ।
यो यथार्थ एउटा यौनकर्मीको कोठाबाट देखाउनु यो नाटकको वैचारिक सामर्थ्य हो ।

अर्कोतर्फ यस नाटकले समाजले कसलाई सम्मान दिन्छ भन्ने कुरा नैतिकताले नभई शक्तिले निर्धारण गर्छ भन्ने पनि देखाउँछ । किनकि, मेनुकाले सत्य बोल्न खोज्दा खोज्दै अन्ततः त्यही सम्मानको खेलमा फस्छिन् । र, विवेककी रखैल बन्न तयार हुन्छिन् । यसरी नाटकले कमजोर व्यक्तिले आफ्नो स्वतन्त्रता कसरी बिस्तारै बेच्दै जान्छन् भन्ने पनि देखाउँछ ।
मेनुका सुरुमा सत्यको पक्षमा उभिन तयार हुने पात्र हुन्छिन् । तर, सांसद जगन्नाथका मीठा शब्द, सामाजिक दबाब र आफ्नै असुरक्षाले उनलाई कमजोर बनाउँछ । अन्त्यमा त ऊ विवेकलाई गोली हान्न समेत सक्दिनन् । अर्कोतर्फ, अर्विन्द पासवान मानसिक रुपमै यति कमजोर भइसकेका छन् कि उनले पिस्तोल हातमा लिन समेत डराउँछन् । यसरी कहिलेकाहीँ दमन पीडित आफैंले आन्तरिकीकरण गरेर पनि चलिरहन्छ भन्ने कुरा मेनुका र अर्विन्द पात्रमा देखिन्छ ।
आलोचनात्मक दृष्टिले हेर्दा नाटकमा केही वैचारिकी कमजोरी छन् ।
अर्विन्दको चरित्र नाटकभर लगभग मौन र निष्क्रिय छ । उसलाई पूर्ण रूपमा पीडित मात्र देखाइएको छ । त्यसले समाजमा कमजोर ठानिने उनीहरूको ‘स्पेस’ देख्न सकिँदैन । लाग्छ – उसलाई मञ्चमा जबरजस्ती लुकाइयो । यसो भनौं, नाटकले जुन असमानता, विभेद देखाउन विषय उठान गर्यो, सोही कुरा नाटक स्वयंले अर्विन्दमाथि गरेको छ ।

मेनुकालाई पनि अन्त्यमा विवेकको यौन वस्तुका रूपमा छाडिएको छ । यसले महिला चरित्रको स्वतन्त्रतालाई सीमित बनाएको आभास दिन्छ । उसलाई संवेदनशील भनेर उपमा त दिइएको छ, तर ऊ मार्फत यो शब्दको चरितार्थ गर्न सकिएको छैन । नाटकको अन्त्य निराशावादी छ । स्पोइलर अर्लट, दमनमा परेका कुनै पनि पात्रले प्रतिरोध गर्न सक्दैनन् । यसले दर्शकलाई झस्काउँछ तर समाधानको बाटो देखाउँदैन ।
प्राविधिक पाटोको कुरा गर्दा, नाटकको सेट भव्य, सबल देखिन्छ । जुन मेनुकाको कोठा हो । उनको कोठालाई बहुउपयोगी बनाउन खोजिएको छ । नाटकमा भिडियो विधालाई सट्दै प्रयोग गर्न खोजिएको छ । मेनुकाको कोठाबाहिरको संसार र अर्विन्दको स्थिति देखाउन उपयोगी नै देखिन्छ । कुनै कुनै समयमा भने प्रोजेक्टरको प्रयोग झिँजो लाग्छ ।
अभिनयको कुरा गर्दा, कम समय मञ्चमा देखिने अर्विन्द पासवानको भूमिकामा रूपेश मण्डल र जगन्नाथ शर्माको भूमिमा रहेका प्रभाकर देव शर्माको अभिनय उत्कृष्ट छ । एउटै सेटलाई लगातार प्रयोग गर्दा कथामा सुस्तता छाइरहेको बेला उनीहरूको आगमनले रौनकता थप्छ ।

मेनुकाको भूमिकामा रहेकी सरिता गिरी र विवेकको भूमिका रहेका घिमिरे युवराज लामो समय मञ्चमा देखिन्छन् । उनीहरूले सिगरेट साँच्चै तानेको पाटोलाई वेवास्ता गर्ने हो भने अभिनय त्यति क्लिसे लाग्दैन । यद्यपि कतिपय ठाउँमा उनीहरूबीचको संवाद बनावटी सुनिन्छ । प्रहरीको भूमिका रहेका सुधीर बस्नेत र जनक थापाको अभिनय सामान्य लाग्छ ।
नाटकमा एउटै सेटबाट कथा भनिएकाले लाइटको त्यति प्रयोग गरिएको छैन । तर, अडियोमा भने धेरै काम गर्नु पर्ने ठाउँ छाडिएको महसुस हुन्छ । केही ठाउँमा यही कारण कथादेखि बहकिन बाध्य परिने अवस्था समेत छ ।
समग्रमा, रुपान्तरण गरिएको नाटकले स्थानीय परिस्थितिको कथा भन्न सक्नु यो नाटकको सामर्थ्य हो ।
र, यसले हामीलाई संवेदनशील बन्न भने प्रेरित गर्छ ।
फोटो: चन्द्रबहादुर आले
नाटक : मिस मेनुका: एक संवेदनशील यौनकर्मी
नाट्यकार: ज्याँ पल सार्त्र
नाट्य रुपान्तरण: कल्पना घिमिरे नुरिस्सोँ
मञ्चमा: सरिता गिरी, घिमिरे युवराज, रुपेश मण्डल, प्रभावर देव शर्मा, धनराज सुनार, गोविन्द ओली
मञ्चन स्थान: शिल्पी थिएटर, बत्तिसपुतली
मञ्चन अवधि: १३ साउनदेखि ६ भदौसम्म
प्रतिक्रिया 4