+
+
Shares

औषधि अभावबारे सांसद पौडेलले गराए सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य केन्द्रहरूमा नि:शुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • उनले विपन्न क्यान्सर बिरामीका लागि राज्यले दिने १ लाख रुपैयाँको उपचार सहुलियत अपर्याप्त र झन्झटिलो रहेको उल्लेख गरे ।
  • सांसद पौडेलले मधेस प्रदेशमा सर्पदंशको उपचारका लागि नेपाली सेनाको ब्यारेकमा समेत भरपर्दो व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा नि:शुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले स्वास्थ्य मन्त्रालयबाट नि:शुल्क वितरण गरिने भनिएका औषधिहरू तल्लो तहका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध नभएको बताए ।

आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमनका क्रममा कतिपय स्थानमा नि:शुल्क औषधिको मौज्दात शुन्य रहेको पाइएको उनले उल्लेख गरे ।

बैठकमा सांसद पौडेलले जटिल प्रकृतिका रोग, विशेषगरी क्यान्सरबाट पीडित विपन्न नागरिकहरूको दयनीय अवस्थाबारे समेत चर्चा गरे । आर्थिक अभावका कारण उपचार गर्न नसकी बिरामीहरू गम्भीर मानसिक तनावमा रहेको उल्लेख गर्दै उनले राज्यले प्रदान गर्ने १ लाख रुपैयाँको उपचार सहुलियत अपर्याप्त र झन्झटिलो भएको बताए ।

मधेश प्रदेश सरकारले दिने भनिएको सहुलियत समेत समयमा प्राप्त नहुने र बिरामीहरूले वर्षौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेकोमा उनले आपत्ति जनाए ।

‘चन्द्रपुर अस्पतालमा संघबाट वार्षिक करिव १७ लाख रुपैयाँ बराबरको औषधिको बजेट प्राप्त हुन्छ, तर अस्पतालको केन्द्रिय अवस्थितिका कारण छिमेकी पालिकाहरूबाट समेत बिरामी आउँदा त्यहाँ वार्षिक १ करोड रुपैयाँभन्दा बढीको औषधिको माग छ,’ सांसद पौडेलले भने, ‘यस्तो अवस्थामा बजेट र मागबीचको खाडल पुर्न सरकारले विशेष नीतिगत व्यवस्था गर्नुपर्छ । विपन्नले साँच्चिकै उपचार पाउने र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले के कस्तो योजना बनाएको छ ?’

सांसद पौडेलले मधेस प्रदेशमा सर्पदंशको समस्या निकै भयावह रहेकोतर्फ पनि समितिको ध्यान आकृष्ट गराए ।

रौतहटमा उचित उपचार केन्द्रको अभावमा बिरामीहरूको अकालमै मृत्यु हुने गरेको भन्दै उनले कम्तीमा नेपाली सेनाको ब्यारेकमा भएपनि सर्पदंश उपचारको भरपर्दो व्यवस्था मिलाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?