News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने सरकारी कदमको विरोध गर्दै संसद्मा दिनभर उभिने घोषणा गरेका छन् ।
- स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि ढल्केवरका स्थानीय आन्दोलित भएका छन् ।
- सांसद यादवले ढल्केवरमा जग्गा प्राप्ति र लालपूर्जाको प्रक्रिया पूरा भइसकेको योजना अन्यत्र सार्न नपाइने भन्दै मन्त्रीलाई उक्त अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बनाउन माग गरेका छन् ।
यो विषयमा पूर्वतर्वी सरकारले प्रस्ताव गरेको तर वर्तमान सरकारले अगाडि नबढाउन खोजेको भनेर उनले सरकारको विरोधमा र स्थानीय जनताको पक्षमा दिनभर संसद्मा उभिने घोषणा गरेका हुन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनी उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै उनले वैज्ञानिक रुपमा पनि ढल्केवरमा ट्रमा सेन्टर आवश्यक रहेको बताए ।
तर यो प्रस्तावित योजना अन्यत्रै सारिएको भन्दै आन्दोलन चर्किएको स्मरण गराए । गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएकी थिइन् ।
मन्त्री मेहताले यस्तो बताएपछि स्थानीय आन्दोलित भएको पनि उनले बताइन् । हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २ ‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको अवस्थामा सरकारले प्रस्तावित योजना अन्यत्रै सारेको भनेर सांसद यादवले विरोध गरेका हुन् ।
शिलान्यासको संघारमा रहेको प्रस्तावित योजना स्वास्थ्य मन्त्रीको अभिव्यक्तीले विवादमा तानिएको भनेर उनले विरोधमा संसद्मा दिनभर उभिने घोषणा गरेका हुन् ।
ढल्केवरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्न नपाइने उनको माग छ । स्वास्थ्यमन्त्री मेहताले सदनबाटै उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग राखेका छन् ।
सदनमा नबसेपछि सभामुख अर्यालले नियमावलीको कुन नियमापत्ति हो भनेर सोधे । तर सांसद यादव बसेनन् ।
प्रतिक्रिया 4