News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वीर अस्पताल पुगेर नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
- साउन १८ गते केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा अस्वस्थ भई ढलेका थपलियाको वीर अस्पतालमा उपचार भइरहेको छ।
- मधुमेहका बिरामी रहेका नेता थपलियाको स्वास्थ्यमा सुधार ल्याउन चिकित्सकहरूले उपचार गरिरहेका छन्।
२२ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपिलिया(जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्पताल पुगेकी छन् ।
वीर अस्पतालमा उपचाररत नेता थपलियाको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् ।
साउन १८ गते राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा छलफलका क्रममा नेता थपलिया ढलेका थिए । त्यसयता उनी वीर अस्पतालमा उपचाररत छन् ।
त्यो दिन ओलीले बागमती प्रदेश सरकार गठनको विषयमा छलफल गर्न बागमती प्रदेश सांसद र नेताहरूलाई बोलाएका थिए । सो क्रममा ओली, अन्य नेता र सांसदहरूले थपलियालाई ‘मुख्यमन्त्री पदमा तपाईँ सक्नुहुन्न’ भन्ने आशय व्यक्त गरेपछि उनी भावुक बनेका थिए ।
सोही क्रममा उनी ढलेका थिए । त्यहाँबाट उनलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । त्यहाँबाट दोस्रो दिन वीर अस्पतालमा भर्ना गरिएको थियो ।
थपलिया मधुमेहका बिरामी रहेको बताइएको छ ।
प्रतिक्रिया 4