+

क्षितिज र प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधिका लागि भिड्ने

२०८३ साउन  ३१ गते ८:०७ २०८३ साउन ३१ गते ८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल फाइनलमा भिड्ने भएका छन् ।
  • सेमिफाइनलमा क्षितिजले विष्णु कटुवाललाई तथा प्रिन्सले प्रफुल महर्जनलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
  • महिला एकलतर्फ रसिला महर्जन र शेस्ना श्रीपालीले फाइनलमा स्थान बनाएका छन् ।

३१ साउन, काठमाडौं । एपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठ पुरुष एकलतर्फ उपाधिका लागि भिड्ने भएका छन् ।

शनिबार भएको सेमिफाइनलमा क्षितिजले पिस फिटनेस क्लबका विष्णु कटुवाललाई १८–२१, २१–७, २२–२० ले पराजित गर्दै फाइनलमा स्थान बनाए । पहिलो सेट गुमाए पनि क्षितिजले उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई सेट जिते ।

अर्को सेमिफाइनलमा शीर्ष वरीयताका प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २२–२४, २१–१४, २१–१२ ले पराजित गरे ।

समूह चरणको पहिलो खेलमा क्षितिजले प्रिन्सलाई पराजित गरेका थिए । त्यसैले फाइनल प्रिन्सका लागि समूह चरणको हारको बदला लिने अवसरसमेत बनेको छ ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला शीर्ष आठ एकलतर्फ भने नेपाल नम्बर एक खेलाडी रसिला महर्जनले फाइनलमा स्थान बनाएकी छन् ।

सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबकी रसिलाले नेपाल पुलिस क्लबकी निता लम्साललाई २१–१३, २१–१३ ले पराजित गरिन् ।

अर्को सेमिफाइनलमा पुलिसकी शेस्ना श्रीपालीले एपीएफकी रिहाना सेरचनलाई २१–१६, २१–१८ ले हराउँदै रसिलासँगको उपाधि भिडन्त पक्का गरिन् ।

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय