+
+
Shares
अनुसन्धान :

विज्ञानले सुन्छ चराहरूको गीत

नजिकै चिरबिर गरिरहेका भँगेरा देख्नुभयो भने पक्कै पनि आफ्नो थोरै समय र ध्यान त्यतातिर पनि दिनोस् है। हजारौं वर्षदेखि निरन्तर आफ्नो गीत र सङ्गीतमा सुधार ल्याइरहेका यी चराहरू सधैं आफ्नो गीत हामीलाई सुनाइरहन्छन्।

अनुज घिमिरे अनुज घिमिरे
२०८३ साउन ३१ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैज्ञानिक जर्नल 'साइन्स'मा प्रकाशित नयाँ अध्ययनले विश्वभरका चराहरूमा ८ प्रकारका समान ध्वन्यात्मक स्वरूपहरू रहने गरेको पत्ता लगाएको छ।
  • अध्ययनले चराहरूको गीतमा आनुवंशिक निकटताभन्दा वातावरणीय कारक, शारीरिक अवस्था र प्रजनन व्यवहारको प्रभाव बढी हुने देखाएको छ।
  • लामो दूरीमा सम्पर्क गर्ने चराहरूले सरल सिट्ठी वा ट्रिल र साना चराहरूले छिटो गतिका जटिल धुनहरू निकाल्ने गरेको पाइएको छ।

वसन्तपुरको डबलीमा होस् वा चन्द्रागिरिको डाँडा या पीपलको बोट मुनि बसेर चिया पिउँदा होस्; चराहरूको गीतले सदैव हाम्रो पृष्ठभूमिलाई सङ्गीतमय बनाएकै हुन्छ। र मानव जातिभन्दा धेरै अगाडि, करिब ६ करोड ६० लाख वर्ष अगाडिदेखि चराहरूले निरन्तर गीत गाइरहेका छन्।

हामी त्यो गीत सुन्छौं पनि तर त्यसप्रति धेरै ध्यान वा रुचि दिंदैनौं। तर, चराहरूको सङ्गीतमय संसार साँच्चिकै रमाइलो छ। त्यही रमाइलो संसारको एउटा वैज्ञानिक पाटो बारे आज कुरा गरौं।

संसारमा ११ हजार भन्दा धेरै प्रजातिका चरा पाइन्छन्। ती चराहरूलाई करिब ४४ अडरमा विभाजन गरिएको छ जसमध्ये सबैभन्दा धेरै चरा प्रजाति रहेको अडर हो प्यासरिफर्मिस।

सामान्य भाषामा भन्नु पर्दा कुनै हाँगा-बिंगा वा केही वस्तुमा समाएर (पर्च गर्ने) बस्न सक्ने र सङबर्डस् (वा सुमधुर गीत गाउन सक्ने)। प्यासरिफर्मिसमा करिब ६ हजार ४०० प्रजातिका चरा छन्, संसारको लगभग ६० प्रतिशत चरा प्रजाति यही वर्गीकरणमा पर्छन्।

वैज्ञानिक वर्गीकरणमा अडर पछि आउँछ फ्यामिली वा परिवार। संसारका सबै चरालाई २५० जति परिवारमा विभाजन गर्न सकिन्छ भने प्यासेरिफर्मिस अडरमा १४८ वटा परिवारका चराहरू पर्छन्। र एउटै परिवारमा अझ एउटा प्रजाति (जिनस) मा पर्ने धेरै चरा त हेर्दा उस्तै देखिने पनि हुने गर्छन्। तर, एकदमै नजिकैका उस्तै देखिने चराहरूको पनि गीत भने फरक पर्ने गर्छ। एक हिसाबले चराका प्रजातिहरूमा उनीहरूलाई पहिचान दिने कुरा हो गीत।

हेर्दा ठ्याक्कै एउटै देखिने चराहरूको पनि गीत भने केही न केही रूपमा फरक हुने गर्छ।  चराको गीतहरूलाई पनि विभिन्न प्रकार वा एलिमेन्टमा विभाजन गर्न मिल्छ। जस्तै सङ्ग, कल, ट्रिल्ल, बज।

र सबै चराहरूको गीतमा यी सबै एलिमेन्ट हुनुपर्छ भन्ने छैन। यी एलिमेन्टहरूको मिश्रण र गीत गाउने शैलीले नै चराहरूको गीतलाई विविध बनाउने गर्छ। तर यी चराका गीतहरूलाई स्वरूप के कुराले दिन्छ? प्रजातिहरूको एकअर्कासँगको सम्बन्ध? वा उनीहरूको वासस्थान ?

आउनुस् चराहरूको गीत बारे केही रोचक कुरातिर जाऊँ।

अध्ययनकर्ताले चराहरूको गीत वा गीतको प्रकार के कुराले निर्धारण गर्छ त भनेर बुझ्न खोजेको थिए। त्यसको लागि उनीहरूले तीन कुराको अध्ययन गरेका थिए। पहिलो थियो चराहरू बीचको आनुवंशिक निकटता, दोस्रो थियो जैविक विशेषता र अन्तिम कुरा भने वातावरणीय असर।

विज्ञान जगत्‌को प्रख्यात जर्नल ‘साइन्स’ मा भर्खरै प्रकाशित एउटा अध्ययनले चराहरूका गीतहरू बारे केही रोचक तथ्यहरू सार्वजनिक गरेको छ।

त्यस अध्ययनमा ३ हजार १६० प्रजातिका प्यासेराइन चराहरूका १ लाख १६ हजार ७९२ गीतहरू विश्लेषण गरिएको थियो। जसमा अध्ययनकर्ताले ती सबै प्रजातिका चराहरूमा ८ वटा दोहोरिइरहने ध्वन्यात्मक स्वरूपहरू भेटाएका छन्। त्यस मध्ये ३ वटा सिट्ठी प्रकारका ३ वटा ट्रिल र २ प्रकारका हार्मोनिक नोटहरू भेटेका छन्। ट्रिल भन्नाले चिर्र चिर्र प्रकारको एकदम चाँडो गतिमा निकालिने अवाज भनेर बुझ्न सकिन्छ।

अर्थात् संसारमा पाइने सबै संगबर्डस्‌हरूमा त्यही ८ प्रकारका स्वरूपहरू पाइने गर्छ र धेरै चराहरूले ती स्वरूपहरूकै संयोजन मार्फत आफ्नो गीत बनाउने गर्छन्।

अध्ययनकर्ताले चराहरूको गीत वा गीतको प्रकार के कुराले निर्धारण गर्छ त भनेर बुझ्न खोजेको थिए। त्यसको लागि उनीहरूले तीन कुराको अध्ययन गरेका थिए। पहिलो थियो चराहरू बीचको आनुवंशिक निकटता, दोस्रो थियो जैविक विशेषता र अन्तिम कुरा भने वातावरणीय असर।

उनीहरूको अध्ययनले देखाए अनुसार चराहरूको गीतलाई आनुवंशिक निकटताले खासै असर नपर्ने देखिएको छ। अलि अलि असर देखिएको मध्ये पनि फ्ल्याट सिट्ठी प्रकारको नोट भएका चराहरूमा धेरै निकटताको असर देखिएको थियो भने छिटो गतिमा ट्रिल गर्ने चराहरूमा एकदम थोरै आनुवंशिक निकटता देखिएको छ।

यसको अर्थ के हुन्छ भने, साधारण प्रकारका आवाज जुन उनीहरूको जेनेटिक इम्प्रिन्ट बनेर बसेको हुन्छ त्यस्तो गीत वा कलहरू एक हिसाबले पूर्वनिर्धारित गुणहरूमा पर्छन् वा अङ्ग्रेजीमा डिफ़ल्ट भनिए झैं। तर अलि गाह्रो वा जटिल प्रकारका गीत वा कल निकाल्नुपर्ने चराहरूलाई आफ्नो वातावरण, वासस्थानहरूको अवस्था हेरेर अलि जटिल प्रकारका गीतहरू निकाल्न परेको हुन सक्छ।

यस अध्ययनमा देखिएको एउटा अर्को रोचक कुरा थियो असिन र सब-असिन चराहरू बीचको भिन्नता। गीत गाउने चराहरूमा पनि दुई प्रकारका चराहरू हुने गर्छन्। असिन चराहरूमा गीत गाउन सक्ने आनुवंशिक क्षमता हुँदैन भने सब-असिनमा आनुवंशिक रूपमा गीत गाउन सक्ने क्षमता हुने गर्छ।

असिन चराहरूले अण्डाबाट बाहिर निस्केर चल्ला भएको बेला आफ्नो अभिभावक वा अन्य चराहरूले गाएको गीत सुनेर गीत गाउन सिक्छन्। र यस अध्ययनमा सब-असिन चराहरू बीच चाहिं कडा आनुवंशिक निकटता हुने पाइएको छ। र असिन चराहरूमा गीत वा गीतको प्रकार पुस्तै पिच्छे फरक पनि पर्न सक्छ, र अध्ययनले देखाएको कुरा पनि मिल्दोजुल्दो नै देखिन्छ।

त्यसैगरी लामो दूरीमा सम्पर्क गर्ने चराहरूले फ्ल्याट सिट्ठी वा स्लो ट्रिलको प्रयोग गर्ने र नजिकैको दूरीमा सम्पर्क गर्ने प्रजातिहरूले अलि जटिल प्रकारको द्रुत गतिमा चल्ने नोट्सहरू प्रयोग गर्ने अध्ययनले देखाउँछ।

विभिन्न ठाउँको आर्द्रताले वा तापक्रम वा वनस्पति घनत्वले पनि चराहरूको गीतको सञ्चारणमा असर गर्न सक्छ भन्ने कुरा पनि यही अध्ययनले देखाउँछ।

चराहरूको गीत उनीहरूको आकारले पनि फरक पर्ने रहेछ। ठूला चराहरूमा सरल प्रकारका गीतहरू र साना चराहरूमा अलि द्रुत गतिका सिट्ठी बजाएको झैं सुनिने गीतहरू। त्यसैगरी एक भन्दा धेरै पोथीहरूसँग प्रजनन गर्ने चराहरूमा गीतहरू अलि जटिल हुने गरेको पनि पाइएको छ।

रमाइलो कुरा त वातावरणीय हिसाबले पनि चराहरूको गीतमा फरक पर्ने रहेछ।

ट्रपिकल फरेस्ट (उष्णकटिबन्धीय वर्षा वन) तिर पाइने चराहरूमा वातावरणीय प्रकारका गीतहरू र टेम्प्रेट फरेस्ट (समशीतोष्ण) क्षेत्रहरूमा जटिल तर सूचनाहरूले भरिपूर्ण गीतहरू पाइने गरेको पत्ता लागेको छ। समशीतोष्ण क्षेत्रमा त्यस्तो हुनुको कारण चाहिं त्यहाँको वातावरण खास गरी प्रजनन गर्नको लागि हुने छोटो समयले गर्दा पनि हुन सक्छ।

विभिन्न ठाउँको आर्द्रताले वा तापक्रम वा वनस्पति घनत्वले पनि चराहरूको गीतको सञ्चारणमा असर गर्न सक्छ भन्ने कुरा पनि यही अध्ययनले देखाउँछ।

वातावरणीय कारकहरूले गीतहरूको सञ्चारणमा र चराहरूको आनीबानी उनीहरूको सामाजिक तथा वासस्थान, प्रजननको व्यवहारहरूले उनीहरूको जटिलतामा असर गर्दै आजको दिनसम्म हामीसामु भएको चराहरूको गीतलाई आकार दिएको यस अध्ययनले बताउँछ।

शायद अब कतै चिया पिएर बस्दा नजिकै चिरबिर गरिरहेका भँगेरा देख्नुभयो भने पक्कै पनि आफ्नो थोरै समय र ध्यान त्यतातिर पनि दिनुहुन्छ कि भन्ने आश छ। हजारौं वर्षदेखि निरन्तर आफ्नो गीत र सङ्गीतमा सुधार ल्याइरहेका यी चराहरू सधैं आफ्नो गीत हामीलाई सुनाइरहन्छन्।

त्यसैले नै होला मानवको सङ्गीत जगतमा होस् वा कलामा होस् वा कविता र आख्यानमा; कतै न कतै चराहरू बसेकै हुन्छन् र धेरैजसो त गीत नै गाइरहेका हुन्छन्।

लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?