News Summary
Generated by OK AI. Editorially reviewed.- नेता शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै वामपन्थी दलहरूले आफ्नो विचार र राजनीतिक संस्कृतिको निर्मम मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याए ।
- बस्नेतले भने, \'परिवर्तनको खोजीमा हिँडेको जनअभिमत हामीबाट धेरै पर पुग्ने स्थिति किन र कसरी निर्माण भयो ? त्यसलाई सही दिशामा कसरी फेरि फर्काउन सकिन्छ ?\'
- जनताको असन्तुष्टि सम्बोधन गर्न नसक्दा वामपन्थी दलहरूले सफलता वा असफलताको जिम्मेवारी व्यक्तिकेन्द्रित राजनीतिमा सीमित गरेको उनको भनाइ छ ।
३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । परिवर्तनको खोजीमा रहेको जनमत कम्युनिस्ट दलहरूबाट किन टाढियो भन्ने कारण नखोजिकन वामपन्थी आन्दोलन अघि बढ्न नसक्ने उनको निष्कर्ष छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता बस्नेतले व्यक्तिकेन्द्रित राजनीतिबाट माथि उठ्नुपर्ने बताए । जनताको असन्तुष्टि र आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीबारेको बहस कमजोर हुँदै जाँदा समस्या समाधानको जिम्मेवारी व्यक्तिमा केन्द्रित हुने प्रवृत्ति बढेको उनले औंल्याए ।
‘परिवर्तनको खोजीमा हिँडेको जनअभिमत हामीबाट धेरै पर पुग्ने स्थिति किन र कसरी निर्माण भयो ? त्यसलाई सही दिशामा कसरी फेरि फर्काउन सकिन्छ ? आजको हाम्रो बहसको सार यही हुनुपर्छ,’ बस्नेतले भने, ‘जब विचार, राजनीति र प्रणालीमा छलफल कम हुँदै जान्छ, तब सफलता र असफलताको श्रेय कुनै एक व्यक्तिलाई दिने वा लिने प्रवृत्ति बढ्छ । यसले विचारको औचित्यलाई नै कमजोर बनाउँदै लैजान्छ ।’
विश्वभर बढ्दो नवउदारवादको प्रभावले सामाजिक तथा आर्थिक असमानता र विभेद घटाउन नसकेको दाबी गर्दै उनले वर्तमान परिस्थिति कि त वामपन्थी कि दक्षिणपन्थी बाटोमा ध्रुवीकृत भइरहेको जिकिर गरे । वामपन्थी आन्दोलनले जनताको असन्तुष्टिलाई नयाँ दिशा दिन विचार र राजनीतिमाथि गम्भीर बहस गर्नुपर्ने उनको भनाइ छ ।
कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउन दलहरूले विगतका राजनीतिक अभ्यासको निर्मम मूल्यांकन गर्न जरुरी रहेको उनले बताए । २०६३ देखि २०८२ सालसम्म कम्युनिस्ट दलहरूले पटक–पटक मुलुकको नेतृत्व गर्ने अवसर पाए पनि आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन नसकेको टिप्पणी समेत उनले गरे ।
प्रतिक्रिया 4