+
+
Shares

रुपन्देही निर्माण व्यवसायी संघका कार्यवाहक अध्यक्ष कुटिए

प्रदेश समितिका महासचिवबाट मुक्का प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १६:५०

३१ साउन, बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनका सम्बन्धमा उत्पन्न विवादका क्रममा कार्यवाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात भएको छ ।

संघको भैरहवास्थित कार्यालयमा बसेको बैठकका क्रममा अधिवेशनको मितिबारे विवाद हुँदा बैठक स्थगित भएको थियो । सोही विषयलाई लिएर लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव विनय ज्ञवालीले बेल्बासेमाथि हातपात गरेका हुन् ।

ज्ञवाली निर्माण व्यवासायी संघ रुपन्देहीका पूर्वअध्यक्षसमेत हुन् ।

ज्ञवालीले आफूमाथि मुक्का प्रहार गर्दा कानको जालीमा असर परेको बेल्बासेले बताए ।

गत जेठमा बसेको संघको कार्यसमिति बैठकले आगामी मंसिरको १२ र १३ गते अधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा संघका सदस्य शुभम रौनियारले असोजमा गर्नुपर्ने भन्दै विवाद गरेको बेल्बासेले बताए ।

‘मंसिरसम्म हाम्रो कार्यकाल रहेकाले मंसिरमै अधिवेशन गर्ने निर्णय गरेर महासंघको प्रदेश समितिमा पनि जानकारी गराइसकेका हौं,’ कार्यवाहक अध्यक्ष बेल्बासले भने, ‘यस्तोमा मेरै कार्यकक्षमा प्रदेशकै महासचिव कुटपिटमा उत्रिनुभयो ।’

संघको पूर्वअध्यक्ष र प्रदेश महासचिवले अभिभावकको भूमिका खेल्नुपर्नेमा उल्टै हातपातमा उत्रिँदा निर्माण व्यवसायीकै बद्नाम भएको उनले बताए ।

कुटपिटपछि  बेल्बासेले वडा प्रहरी कार्यालय सिद्धार्थनगरमा कारबाहीको माग गर्दै उजुरी दिँदा समस्या समाधान नभएको बताए । अब जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिने उनको भनाइ छ ।

प्रतिनिधि सभामा निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएपछि संघकी अध्यक्ष मन्जु ज्ञवाली भुसालले महासचिव प्रितम रौनियारलाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

भुसालको निर्णयविरुद्ध अदालतमा मुद्दा समेत परेको थियो । त्यसपछि बेल्बासे कार्यवाहक अध्यक्ष बनेका हुन् ।

प्रदेश समितिका महासचिव ज्ञवालीले कार्यवाहक अध्यक्ष बेल्बासेले अमर्यादित शब्द बोलेकाले आफूले हातपात गरेको स्वीकार गरेका छन् ।

बेल्बासे पक्षका व्यवसायीहरूले ज्ञवालीमाथि कानुनी कारबाही हुनुपर्ने र प्रदेश महासचिवबाट पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?