अभिनेता नाना पाटेकरलाई गोवास्थित निवासबाट अचेत अवस्थामा तत्काल अस्पताल पुर्याइएको थियो । चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर गरेर बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् ।
मणिपाल अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार नाना पाटेकरलाई गम्भीर कार्डियाक अरेस्ट भएको थियो । बिहान ५ः२० बजे उनको निधन भएको बताइएको छ । यद्यपि, थप चिकित्सकीय प्रक्रिया जारी रहेकाले मृत्युको कारणसम्बन्धी अन्तिम विवरण पोस्टमार्टमपछि स्पष्ट हुने बताइएको छ।
नाना पाटेकरको निधनले फेरि एउटा गम्भीर स्वास्थ्य अवस्थातर्फ ध्यान तानेको छ— कार्डियाक अरेस्ट ।
आखिर कार्डियाक अरेस्ट भनेको के हो ? मुटुको चाल अचानक किन रोकिन्छ ? र मुटुले रगत पम्प गर्न छाड्दा मानिस केही मिनेटमै मृत्युको मुखमा कसरी पुग्छ ?
कार्डियाक अरेस्ट भनेको के हो?
कार्डियाक अरेस्टलाई सरल भाषामा बुझ्दा मुटुले अचानक रगत पम्प गर्न छाड्नु हो ।
सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट तथा मेडीसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख डा. रञ्जितकुमार शर्माका अनुसार ‘कार्डियाक’ शब्दले मुटुलाई जनाउँछ भने ‘अरेस्ट’ भनेको रोक्नु वा बन्द हुनु हो ।
जब मुटुको विद्युतीय प्रणालीमा गम्भीर गडबडी आउँछ, मुटुको चाल अनियमित हुन्छ र त्यसले शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न सक्दैन। यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ ।
मुटु रोकिएपछि केही सेकेन्डमै असर
मुटु शरीरको सबैभन्दा महत्त्वपूर्ण पम्प हो। यसले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्याइरहेको हुन्छ। तर, कार्डियाक अरेस्ट हुँदा यही पम्प अचानक बन्द हुन्छ।
डा. शर्मा भन्छन्, ‘मुटु हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण पम्प हो। यसले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्याइरहेको हुन्छ । जब कार्डियाक अरेस्ट हुन्छ, मुटुले अचानक यो काम गर्न छोड्छ। त्यसको असर केही सेकेन्डमै मस्तिष्कमा देखिन थाल्छ।’
मुटुले रगत पम्प गर्न छाडेपछि मस्तिष्कमा अक्सिजन पुग्न बन्द हुन्छ। व्यक्ति अचानक बेहोस हुन सक्छ, श्वास रोकिन सक्छ र शरीरका अन्य अंगले पनि काम गर्न छाड्न थाल्छन्।
‘३ देखि ५ मिनेटभित्र यदि मुटु फेरि सञ्चालनमा आएन भने मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मृत्यु हुन्छ,’ डा. शर्मा भन्छन् ।
त्यसैले कार्डियाक अरेस्टमा एक–एक मिनेट महत्त्वपूर्ण हुन्छ। तत्काल सीपीआर सुरु गर्नु र आपत्कालीन उपचार पाउनु जीवन बचाउन निर्णायक हुन सक्छ ।
कार्डियाक अरेस्ट किन हुन्छ?
कार्डियाक अरेस्ट हुनुका विभिन्न कारण हुन्छन् । तर, धेरैजसो अवस्थामा यसको सम्बन्ध मुटुसम्बन्धी समस्यासँग हुन्छ ।
डा. शर्माका अनुसार धेरैजसो अवस्थामा पहिले हृदयघात हुन सक्छ। हृदयघातले मुटुको मांसपेशीमा क्षति पुर्याउँदा मुटुको विद्युतीय प्रणालीसमेत प्रभावित हुन सक्छ। त्यसपछि मुटुको चालमा गम्भीर गडबडी आएर कार्डियाक अरेस्ट हुन सक्छ ।
हृदयघात हुँदा मुटुलाई रगत पुर्याउने धमनी अर्थात् कोरोनरी आर्टरीमा रगतको थक्का बन्न सक्छ वा धमनी पूर्णरूपमा बन्द हुन सक्छ। त्यसपछि मुटुको मांसपेशीमा पर्याप्त रगत र अक्सिजन पुग्दैन ।
यसले मुटुको विद्युतीय प्रणालीमा असर पुर्याउन सक्छ। मुटुको सामान्य ‘रिदम’ बिग्रिएर भेन्ट्रिकुलर फाइब्रिलेसन वा भेन्ट्रिकुलर ट्याकिकार्डियाजस्ता गम्भीर अवस्था आउन सक्छन् ।
मुटु ‘कम्पन’ मात्र गर्छ, पम्प गर्दैन
भेन्ट्रिकुलर फाइब्रिलेसन भएको अवस्थामा मुटुको तल्लो भाग अर्थात् भेन्ट्रिकलहरू सामान्य रूपमा खुम्चिएर रगत पम्प गर्न सक्दैनन् । बरु ती अनियमित रूपमा काँपिरहन्छन् ।
डा. शर्मा भन्छन्, ‘जब मुटुको रिदम बिग्रिन्छ, मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न सक्दैन। मुटु ‘कम्पन’ मात्र गर्छ, पम्पिङ गर्दैन।’
यस्तो अवस्थामा शरीरमा रगतको प्रवाह लगभग बन्द हुन्छ। व्यक्ति अचानक ढल्छ, बेहोस हुन्छ र केही समयमै सास फेर्नसमेत छाड्न सक्छ।
त्यसैले, हृदयघातको उपचार समयमै नहुँदा त्यसले कार्डियाक अरेस्टको जोखिम बढाउन सक्छ। हृदयघात र कार्डियाक अरेस्ट एउटै कुरा होइनन्, तर हृदयघातले कार्डियाक अरेस्ट निम्त्याउन सक्छ।
मुटुको चाल बिग्रिँदा पनि हुन सक्छ
कार्डियाक अरेस्टको अर्को महत्त्वपूर्ण कारण मुटुको चाल अर्थात् ‘रिदम’ मा आउने गम्भीर गडबडी हो।
‘हृदयघात, इलेक्ट्रोलाइट असन्तुलन, तनाव, औषधि वा जन्मजात कारणले मुटुको चाल अत्यन्तै छिटो वा अव्यवस्थित हुन सक्छ,’ डा. शर्मा भन्छन्, ‘जब मुटुको तल्लो भाग अत्यन्तै छिटो वा अनियमित रूपमा काँप्न थाल्छ, मुटुले रगत पम्प गर्न सक्दैन। यो केही सेकेन्डमै मानिसलाई ढाल्न सक्छ ।’
यसरी हेर्दा कार्डियाक अरेस्ट भनेको केवल ‘मुटु कमजोर हुनु’ होइन। मुटुको विद्युतीय प्रणालीमा आएको गम्भीर गडबडीले मुटुको पम्प गर्ने क्षमता नै अचानक बन्द गराउन सक्छ ।
र यही कारण कार्डियाक अरेस्टमा एक–एक सेकेन्डको महत्त्व हुन्छ ।
व्यक्ति अचानक ढलेर प्रतिक्रिया नदिएको र सामान्य रूपमा सास नलिएको अवस्थामा तत्काल आपत्कालीन सहायता बोलाउनु, सीपीआर सुरु गर्नु र उपलब्ध भए एईडी प्रयोग गर्नु जीवन बचाउन महत्त्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4