२२ असोज, काठमाडौं । श्रीलंकाका टेस्ट कप्तान धनञ्जय डी सिल्भाले तत्काल लागू हुने गरी कप्तानीबाट राजीनामा दिएका छन् ।
३५ वर्षीय डी सिल्भाले भने खेलाडीका रूपमा भने राष्ट्रिय टोलीका लागि उपलब्ध भइरहने बताएका छन् ।
डी सिल्भाले श्रीलंका क्रिकेटको छनोट समितिलाई पठाएको पत्रमा आफूले नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन् ।
‘मेरो इमानदार विचारमा नेतृत्वको जिम्मेवारी अब अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’ उनले पत्रमा भनेका छन् ।
डी सिल्भाले सन् २०२४ देखि २०२६ सम्म श्रीलंकाको टेस्ट टोलीको नेतृत्व गरेका थिए । उनको कप्तानीमा श्रीलंकाले १८ टेस्ट खेल्दा सातमा जित, आठमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको थियो ।
दिमुथ करुणारत्नेले टेस्ट क्रिकेटबाट संन्यास लिएपछि डी सिल्भालाई २०२४ मा श्रीलंकाको टेस्ट कप्तान नियुक्त गरिएको थियो । उनको नेतृत्वमा श्रीलंकाले घरेलु मैदानमा अफगानिस्तान र बंगलादेशविरुद्ध तथा बंगलादेशको भ्रमणमा शृंखला जितेको थियो । घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध पनि श्रीलंकाले शृंखला जितेको थियो ।
कप्तानका रूपमा आफ्नो दोस्रो टेस्टमै डी सिल्भाले बंगलादेशविरुद्ध सिल्हेटमा दुवै इनिङ्समा शतक बनाएका थिए । उनको उत्कृष्ट प्रदर्शनमा श्रीलंकाले उक्त खेल ३२८ रनले जितेको थियो। कप्तानीका क्रममा उनले थप दुई शतक बनाएका थिए भने ब्याटिङमा ३६.४५ को औसत कायम गरेका थिए ।
श्रीलंका क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एश्ली डी सिल्भाले धनञ्जयलाई बाँकी खेलाडी जीवनका लागि शुभकामना दिँदै टेस्ट टोलीलाई दिएको नेतृत्वका लागि धन्यवाद दिएका छन् ।
श्रीलंका क्रिकेटले भने डी सिल्भाको स्थानमा नयाँ टेस्ट कप्तानको नाम घोषणा गरिसकेको छैन ।
प्रतिक्रिया 4