+
+
Shares

मिचाहा झार बन्यो रोजगारीको आधार

मिचाहा झार नियन्त्रण गर्ने नाममा वर्षौदेखि खर्च हुँदै आएको रकम अहिले स्थानीय महिलाको हातमा पुगेको छ ।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ असोज २४ गते २०:४०

२४ असोज, चितवन । कालिका नगरपालिका वडा नम्बर २ की बिमला प्रजा बिहान घरको काम सकेर थाङखोला सामुदायिक वन पुग्छिन् । केही वर्षअघिसम्म उनको दिन कहाँ काम पाइन्छ भन्ने खोजीमै बित्थ्यो। कहिले घाँस काट्ने, कहिले मेला–पर्वमा काम गर्ने त कहिले ज्यालादारीको काम खोज्दै हिँड्नु उनको दैनिकी जस्तै बनेको थियो ।

बिमलासँग अहिले भने हातमा काम छ, सीप छ र काम गर्ने निश्चित ठाउँ पनि छ । कालिका नगरपालिकास्थित थाङखोला सामुदायिक वनमा बिमलासहित करिब ३५ जना स्थानीय महिला मिचाहा वनस्पतिबाट जैविक मल बनाउने काममा व्यस्त छन् ।

वनमा फैलिएको माइकेनिया, असुरो, सिस्नु, तितेपाती, उन्यू, मनमासा लगायतका वनस्पति काट्ने, संकलन गर्ने, प्रशोधन गर्ने र अन्ततः मल प्याकेजिङ गर्ने काममा उनीहरूको दैनिकी बित्ने गरेको छ ।

‘पहिला कहाँ काम पाइन्छ भनेर खोजेर हिँड्नुपर्थ्यो । मेला जाने हो कि जंगल, जता काम पाइन्छ त्यतै जान्थ्यौं । अहिले आफूलाई सजिलो हुने गरी घाम–पानीबाट बचेर काम गर्न पाएका छौ, खुशी लाग्छ,’ बिमला भन्छिन् ।

बिमलाको जस्तै कथा थाङखोला सामुदायिक वनमा काम गर्ने धेरै महिलाको छ । मिचाहा झार नियन्त्रण गर्ने नाममा वर्षौदेखि खर्च हुँदै आएको रकम अहिले स्थानीय महिलाको हातमा पुगेको छ ।

झार हटाउने काम नै उनीहरूका लागि रोजगारी बनेको छ । थाङखोला सामुदायिक वनमा कामको प्रकृति लचिलो छ । आवश्यकता र कामको चापअनुसार दैनिक ज्यालादारीमा श्रमिक परिचालन गरिने सामुदायीक वनका अध्यक्ष रामबहादुर कार्की बताउँछन्।

नियमित आम्दानीसँगै उनीहरूले वनस्पति चिन्ने, संकलन गर्ने, प्रशोधन गर्ने र कम्पोस्ट बनाउने सक्ने भएका छन् । सामुदायिक वनका अध्यक्ष कार्कीका अनुसार अहिले तालिम प्राप्त ८ देखि १० जना महिलासहितको मुख्य समूह आफैं उत्पादन व्यवस्थापन गर्न सक्ने भएको छ ।

मिचाहा झारलाई काटेर ल्याएपछि प्रशोधनस्थलमा पुर्याइन्छ । मेसिनले टुक्रा पार्छ । त्यसपछि कम्पोस्ट खाडलमा तह–तह बनाएर राखिन्छ ।

वनस्पतिजन्य पदार्थमा करिब १० प्रतिशत वनको माटो र आवश्यक मात्रामा पानी मिसाइन्छ । मिश्रणलाई करिब १५ दिनसम्म कुहिन छाडिन्छ । यस क्रममा तापक्रम ५० देखि ६० डिग्री सेल्सियसको बीचमा कायम राख्न नियमित निगरानी गरिन्छ।

तापक्रम बढी भए पानी थप्ने र जैविक पदार्थ पल्टाउने गरिन्छ । यसले तापक्रम नियन्त्रण गर्नुका साथै सूक्ष्मजीवको सक्रियता कायम राख्न सहयोग गर्ने जानकारहरू बताउँछन् ।
१५ दिनपछि कम्पोस्ट पुनः पल्टाएर मिसाइन्छ र अर्को चरणका लागि छाडिन्छ। करिब तीन महिनामा मल तयार हुन्छ । प्याकेजिङ गर्नुअघि प्रयोगशालामा परीक्षण गरिन्छ ।

वर्षौ समस्या, अहिले आम्दानी

माइकेनिया लगायतका मिचाहा वनस्पति थाङखोला सामुदायिक वनका लागि लामो समयदेखि समस्याको रुपमा थियो । तीव्र रूपमा फैलिने यस्ता वनस्पतिले स्थानीय प्रजातिका वनस्पतिको उत्पादनमा समस्या बन्दै आएका थिए । यस्ता वनस्पति छिटो सुक्ने र सानो झिल्को परे पनि आगो लाग्ने संभावना हुन्छ ।

जिल्ला वन कार्यालयमा २२ वर्ष काम गरेर अवकाश लिएपछि सामुदायिक वन क्षेत्रमा सक्रिय भएका अध्यक्ष कार्कीका लागि पनि यो लामो समयदेखि चुनौतीको विषय थियो । उनी भन्छन्, ‘मिचाहा वनस्पति हटाउनु नियमित कामजस्तै थियो। तर त्यसबाट निस्कने ठूलो परिमाणको जैविक पदार्थको के गर्ने भन्ने समस्या थियोे ।’

त्यही समस्याको समाधान खोज्ने क्रममा झारलाई उपयोग गर्ने उपाय खोजियो र सुरु भयो जैविक मल उत्पादन ।

झार हटाउन सामुदायिक वनले वर्षेनी लाखौं रकम खर्च गर्दै आएको जिल्ला वन कार्यालय, चितवनका प्रमुख विष्णु आचार्य बताउँछन् ।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र सहमति संस्थाले नेचर बेस्ड सोलुसन कार्यक्रमअन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगबाट परियोजना अघि बढाइएको थियो ।

सहमति संस्थाका प्रकृतिमा आधारित समाधान कार्यक्रम संयोजक होमनाथ सुवेदीका अनुसार मिचाहा प्रजाति नियन्त्रणमा वर्षेनी ठूलो लगानी भइरहे पनि त्यसको स्थायी समाधान खोजिएको थिएन ।

‘हरेक वर्ष सफा गर्यो, अर्को वर्ष फेरि आइहाल्ने। त्यसपछि सामुदायिक वनलाई प्रस्ताव पठायौं । सामुदायिक वनले नौ लाख रुपैयाँ सहयोग गर्यो,’ सुवेदी भन्छन् ।

मल उत्पादनसम्बन्धी तालिम २०८२ साल चैतमा सामुदायिक वनका तीन जना सदस्यले लिएका थिए । अहिलेसम्म करिब ६ टन जैविक मल उत्पादन भइसकेको अध्यक्ष कार्कीले बताए ।

मललाई पाँच किलो र २५ किलोका बोरामा प्याक गरेर बिक्री तथा वितरण गर्ने गरिएको छ । सामुदायिक वनका उपभोक्तालाई सहुलियतमा प्रतिकिलो करिब २५ रुपैयाँमा मल उपलब्ध गराइन्छ भने बाहिरी ग्राहकका लागि करिब ५० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

वन डढेलोको जोखिम घटायो

मिचाहा वनस्पति हटाएर त्यसलाई मलमा प्रयोग गर्दा वन डढेलोको जोखिम पनि घट्ने अपेक्षा गरिएको छ। मल उत्पादनबाट सामुदायिक वनलाई आम्दानी हुनेसँगै वनभित्र फैलिएको मिचाहा वनस्पति व्यवस्थापनमा पनि सहयोग पुगेको छ ।

वर्षौदेखि वनमा थुप्रिने सुख्खा जैविक पदार्थ र फैलिँदै जाने मिचाहा वनस्पतिले आगलागीको जोखिम बढाउने गरेको थियो । अहिले त्यही जैविक पदार्थको ठूलो हिस्सा संकलन गरी मल बनाउने गरिएको जिल्ला वन कार्यालयका प्रमुख आचार्य बताउँछन् ।

रासायनिक मल तथा विषादीको प्रयोगसँग जोडिएका वातावरणीय र जनस्वास्थ्यसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न पनि जैविक मल उत्पादन र प्रयोगले सहयोग गर्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?