+

अरिफुल इस्लामले कर्णाली याक्सबाट एनपीएल खेल्ने

२०८३ असोज  २४ गते २१:४८ २०८३ असोज २४ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् ।
  • अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको टोलीबाट विश्वकप खेलेका छन् र टप इन्ड टी–२० सिरिजमा सात खेलमा २१९ रन बनाएका थिए ।
  • कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुलको आगमनले टोलीको ब्याटिङ थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

२४ असोज, काठमाडौं । बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् ।

बङ्गलादेशको उमेर समूहको क्रिकेटबाट पहिचान बनाएका अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन् । उनले बङ्गलादेशको हाइ पर्फमेन्स टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन् ।

अरिफुलले अस्ट्रेलियामा भएको टप इन्ड टी–२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए । उनले सात खेलमा दुई अर्धशतकसहित २१९ रन बनाएका थिए । ३६.५० को औसत र १३८.६० को स्ट्राइक रेटमा खेलेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा रहेका थिए ।

दायाँ हाते ब्याटर अरिफुलले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) पनि खेलिसकेका छन् । उनले अघिल्लो संस्करणमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए ।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुलको आगमनले टोलीको ब्याटिङ थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

‘अरिफुल प्रतिभाशाली र आक्रामक ब्याटिङ गर्न सक्ने युवा खेलाडी हुन् । टप इन्ड टी–२० सिरिजमा उनको प्रदर्शन प्रभावशाली थियो। उनको क्षमताले कर्णाली याक्सको ब्याटिङलाई थप बलियो बनाउने विश्वास लिएका छौँ। एनपीएलको तेस्रो संस्करणमा उनले आफ्नो प्रतिभा देखाउँदै टोलीको सफलतामा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेका छौं’ मल्लले भने ।

कर्णालीले यसअघि मार्क वाट र अकबर अलीलाई अनुबन्ध गरिसकेको छ । अरिफुल यस सिजन टोलीमा जोडिने तेस्रो विदेशी खेलाडी हुन् ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ ।

अरिफुल इस्लाम कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय