News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा प्याजको थोक मूल्य डेढ महिनामा १० प्रतिशत घटेर आज प्रतिकिलो औसत ८२ रुपैयाँमा कारोबार भइरहेको छ।
- १६ भदौमा प्रतिकिलो औसत ९२ रुपैयाँ रहेको प्याजको थोक भाउ २५ असोजसम्म १० रुपैयाँले घटेको कालीमाटी समितिको तथ्यांकले देखाएको छ।
- व्यवसायीहरूका अनुसार कालीमाटीमा भारतबाट आउने सुकेको प्याजको मूल्य घटबढसँगै नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको छ।
२५ असोज, काठमाडौं । स्थानीय बजारमा प्याजको भाउ घटेको छ ।
केही समयअघि निरन्तर बढेको प्याजको भाउ पछिल्लो समय घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ । तथ्यांक अनुुसार करिब डेढ महिना अवधिमा प्याजको भाउ १० प्रतिशत घटेको छ ।
१६ भदौमा थोकमा प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम ९५ र औसत ९२ रुपैयाँमा किनबेच भएको प्याज २५ असोज (आज) सम्म आइपुग्दा प्रतिकिलो १० रुपैयाँले घटेको छ ।
आज आइतबार प्याज थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ८५ र औसत ८२ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि असार अन्तिम साता कालीमाटीमा प्याजको थोक मूल्य औसत ५४ रुपैयाँ (न्यूनतम ५३, अधिकतम ५५) थियो ।
३१ साउनमा औसत ६२ रुपैयाँ पुगेको प्याजको भाउ ७ भदौमा आइपुग्दा किलोको औसत ७७ रुपैयाँ (न्यूनतम ७५, अधिकतम ८०) पुगेको थियो ।
त्यस्तै भदौ १६ मा आइपुग्दा प्याजको अधिकतम भाउ प्रतिकिलो ९५ रुपैयाँसम्म पुग्यो । थोकमा नै मूल्य बढिरहँदा खुद्रामा प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेको थियो ।
अहिले फेरि प्याजको भाउ विस्तारै घट्न थालेको व्यवसायीहरूले बताएका छन् । अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया 4