News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दसैंमा काठमाडौं उपत्यकामा ग्यास अभाव हुन नदिन आजदेखि ३१ असोजसम्म ६ स्थानबाट जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्ने व्यवस्था गरेको छ ।
- नयाँ व्यवस्थाअनुसार उपभोक्ताले फरक ब्रान्डको सिलिन्डर साट्दा अतिरिक्त शुल्क तिर्नु पर्दैन, भरिएको ग्यासको तोकिएको मूल्य मात्र बुझाए पुग्छ ।
- नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौं, ललितपुरका ६ बिक्री केन्द्रबाट बिहान ९:३० देखि ४:३० बजेसम्म सिलिन्डर साट्न सकिने छ ।
२५ असोज, काठमाडौं । दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव नहोस् भनेर सरकारले आज बिहानदेखि ६ वटा फरक–फरक ठाउँबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ ।
सरकारले ग्यास उद्योगी तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय र विक्रेता महासंघसँग समन्वय गरी आजदेखि ३१ असोजसम्म उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको ग्यास लिन पाउने नियम बनाइएको छ ।
नयाँ व्यवस्था अनुसार फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन, केवल भरिएको ग्यासको तोकिएको मूल्यमात्र बुझाए पुग्छ ।
जुनसुकै ब्रान्डको ग्यास साटेर भरी सिलिन्डर किन्न पाइने भएपछि एक सिलिन्डर ग्यास पाउनकै लागि उपभोक्ता बिहानैदेखि लाइनमा लागेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रमा फरक–फरक ब्रान्डका ग्यास उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।
यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुर हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
३१ असोजसम्म बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ ।
दसैंका बेला सिलिन्डर साट्दा अतिरिक्त रकम नलाग्ने हुँदा उपभोक्तालाई ठूलो राहत मिल्ने संघ अध्यक्ष दिवान चन्दले बताएका छन् ।
उनले लाइनमा उभिएका सबै उपभोक्तालाई ग्यास दिएरै पठाउने प्रयास गरिने बताएका छन् ।









तस्विरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4