News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माता एकता कपुरले १५ वर्षपछि ‘द डर्टी पिक्चर २’ बनाउने पुष्टि गरेकी छिन्, तर मुख्य कलाकार र निर्देशकबारे खुलाएकी छैनन्।
विद्या बालनको नाम लिनासाथ धेरैलाई झट्टै सम्झना आउँछ, ‘द डर्टी पिक्चर’ ।
सिल्क स्मिताको अवतारमा उनले पर्दामा जुन तहल्का मच्चाइन्, त्यो अझै बिर्सन सकिएको छैन ।
छोटा लुगा, बिन्दास हाउभाउ र बोल्ड अन्दाजमा देखिएकी विद्याले दर्शकलाई त्यसबेला राम्रैसँग तानेकी थिइन् ।
अब १५ वर्षपछि त्यही फिल्मको दोस्रो भाग बन्ने भएको छ । निर्माता एकता कपुरले ‘द डर्टी पिक्चर २’ बनाउने पुष्टि गरेकी छिन् ।
पहिलो फिल्म प्रदर्शनमा आएको १५ वर्षपछि उनले नयाँ कथा भेटेको बताएकी छन् ।
तर, यसपटकको कथा कस्तो हुनेछ ? यसपालि पर्दामा को उत्रिएला ? विद्या बालन नै फर्किएलिन् कि कुनै नयाँ अभिनेत्रीले सिल्क स्मिताको जस्तै अवतार धारण गर्लिन् ?
यी प्रश्नको जवाफ अहिले एकतासँग पनि छैन, कम्तीमा उनले सार्वजनिक गरेकी छैनन् ।
रणवीर अल्लाहबादियाको पोडकास्टमा कुराकानी गर्दै एकताले आफूले काम गरिरहेका ठूला परियोजनामध्ये ‘द डर्टी पिक्चर २’ पनि एक भएको बताएकी छिन् । ‘म एउटा ठूलो फिल्म बनाउँदै छु, त्यो हो द डर्टी पिक्चर–२ । १५ वर्षपछिको योजना बनाउँदैछु । यसपटक मसँग भन्न चाहेको एउटा जबरजस्त कथा छ भन्ने लागेको छ’ उनले भनेकी छिन् ।
कथा भेटिएको छ । तर, त्यो कथा कसको हो ? एकताले खुलाएकी छैनन् ।
सिल्क स्मिता कि अर्कै कुनै महिला ?
‘द डर्टी पिक्चर’ एउटा अभिनेत्रीको जीवनबाट प्रेरित फिल्म मात्र थिएन । यो त्यस्तो समाजको कथा पनि थियो, जसले महिलाको शरीरलाई पर्दामा हेर्न त रुचाउँछ, तर त्यही महिलाले आफ्नो शरीर र यौनिकताबारे खुलेर निर्णय गर्दा उसैलाई कठघरामा उभ्याउँछ ।
सन् २०११ मा प्रदर्शनमा आएको फिल्ममा विद्या बालनले सिल्क स्मिताबाट प्रेरित चरित्र निर्वाह गरेकी थिइन् । नसिरुद्दिन शाह, इमरान हासमी र तुषार कपुर पनि फिल्ममा थिए । विद्या बालनको अभिनयले फिल्मलाई विशेष उचाइ दियो ।
दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताले आफ्नो करिअरमा ४५० भन्दा बढी फिल्ममा काम गरेको बताइन्छ । उनको पर्दाको छवि, व्यक्तिगत जीवन र समाजले उनीप्रति राखेको दृष्टिकोण लामो समयसम्म चर्चाको विषय बनिरह्यो ।
एकताले भने सिल्कलाई कहिल्यै पीडितका रूपमा नहेरेको बताएकी छिन् । उनको बुझाइमा सिल्क आफ्नो यौनिकतालाई स्वीकार गर्ने र आफ्नै सर्तमा बाँच्न चाहने महिला थिइन् । समाजले उनको छनोटलाई निन्दा गरे पनि एकताले त्यसलाई महिलाको स्वतन्त्रतासँग जोडेर हेरेकी छिन् ।
अब दोस्रो भागमा पनि यस्तै प्रश्न उठ्ने हो कि ? महिलाले आफ्नो जीवनका निर्णय आफैं गर्दा समाज किन असहज हुन्छ ?
पर्दामा महिलाको शरीरलाई मनोरञ्जनका रूपमा हेर्ने दर्शक वास्तविक जीवनमा त्यही महिलाको स्वतन्त्रता स्वीकार गर्न किन हिचकिचाउँछन् ? फिल्मले कुन विषय समात्नेछ भन्ने अहिले नै भन्न सकिँदैन । तर, एकताले नयाँ कथाले भन्नैपर्ने केही कुरा बोकेको संकेत गरेकी छिन् ।
विद्या बालन फेरि फर्केलिन् ?
पहिलो भागको सबैभन्दा ठूलो आकर्षणको केन्द्रमा विद्या बालन नै थिइन् । सिल्क स्मिताबाट प्रेरित चरित्रमा उनले आफूलाई जसरी प्रस्तुत गरिन्, त्यसले उनको अभिनय क्षमताको नयाँ परिचय दिएको थियो ।
त्यसैले, दोस्रो भागको चर्चा सुरु हुनासाथ विद्या फेरि मुख्य भूमिकामा देखिने हुन् कि होइनन् भन्ने जिज्ञासा बढ्नु स्वाभाविक हो ।तर, एकताले यसबारे बोलेकी छैनन् । निर्देशक को हुनेछन्, मुख्य भूमिकामा कसलाई लिइनेछ र फिल्म कहिले प्रदर्शनमा आउनेछ भन्ने पनि सार्वजनिक भएको छैन ।
त्यसैले, विद्या बालन नै फर्किनेछिन् वा नयाँ अभिनेत्रीले त्यो जिम्मेवारी पाउनेछिन् भनेर अहिले नै निष्कर्ष निकाल्नु हतार हुनेछ । सम्भवतः दोस्रो भागले पहिलो फिल्मको कथालाई निरन्तरता दिनेछ, सम्भवतः बिल्कुलै नयाँ महिलाको जीवनबाट कथा उठाउनेछ । अहिलेलाई दुवै सम्भावना खुला छन् ।
१५ वर्षपछि फेरि त्यही बहस ?
‘द डर्टी पिक्चर’ प्रदर्शनमा आउँदा यसको नाम, विषय र विद्यासँगै नसिरुद्दिन शाह, इमरान हासमी र तुषार कपुर प्रस्तुतिले निकै चर्चा पाएको थियो । अब १५ वर्षपछि एकता कपुरले फेरि यही शीर्षकमा फिल्म बनाउने योजना अघि सारेकी छिन् । तर, पुरानो फिल्मको सफलता दोहोर्याउन उत्तेजक दृश्य र बोल्ड प्रस्तुतिले मात्र पुग्दैन ।
नयाँ कथाले दर्शकलाई के दिन्छ, महिलाको जीवनलाई कुन दृष्टिकोणबाट हेर्छ र पुरानो बहसमा के नयाँ कुरा थप्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ ।
एकताले कथा भेटेको बताएकी छिन् । त्यो कथाले दर्शकलाई फेरि चकित पार्ला ? विद्या बालनको अभिनयको सम्झना ताजा गराउला ? वा, कुनै नयाँ अनुहार र नयाँ कथामार्फत महिलाको स्वतन्त्रताबारे अर्को बहस सुरु गर्ला ?
अहिलेका लागि ‘द डर्टी पिक्चर २’ बन्ने खबर मात्रै पक्का छ । बाँकी कुरा पर्दा खुल्दै जाँदा थाहा हुनेछ ।
प्रतिक्रिया 4