+
+
Shares

कठै चलचित्र विकास बोर्डको ‘वेबसाइट’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको वेबसाइटमा नयाँ सूचना र जानकारीहरू अद्यावधिक नभएको, सामग्री पुराना भएको र उपयोगितासमेत कमजोर देखिएको छ।
  • वेबसाइटमा ‘हिस्टोरिकल टाइमलाइन अफ नेपाली सिनेमा’, पुराना कार्यक्रम सूचना र प्रेस विज्ञप्ति मात्र भेटिने उल्लेख गरिएको छ।
  • बोर्डको अध्यक्ष पद खाली रहेको र नयाँ अध्यक्ष आएपछि वेबसाइटलाई गतिशील बनाइनुपर्ने अपेक्षा व्यक्त गरिएको छ।

चलचित्र विकास बोर्ड आफैँमा सौम्य शक्तिको ‘हार्डवेयर’ हो । तर, यसैको वेबसाइट चाहिँ कस्तो ? एक पटक फन्को लगाउनुहोस् त ।

सिनेवृत्तका नयाँ–नयाँ मान्छे हुनुहुन्छ भने तपाईंलाई त्यो वेबसाइटले झुक्याउन सक्छ । किनभने, त्यसमा राखिएका थुप्रै सामग्री थोत्रा छन् । त्यहाँ नयाँ सूचना, जानकारीहरू अपडेट गरिएका छैनन् । हप्तामा एक पटक बक्स अफिस रिपोर्ट सार्वजनिक गर्नेबाहेक ।

वेबसाइटमा फन्को लगाइरहँदा कुनै भद्रगोल सरकारी कार्यालयभित्र प्रवेश गरेजस्तो लाग्न सक्छ । भर्‍याङको भित्तामा पान खाएर पिच्क्याएको, परागका खोलहरू यत्रतत्र छाडेको। शौचालय त छ, तर पस्नै नसकिने । धारा त छ, पानी नै नआउने ।

तपाईंले त्यहाँ सरसर्ती हेर्दै र खोज्दै जानुभयो भने नयाँ र आवश्यक कुराहरू फेला पार्नुहुन्न । पहिलो लहरमा कुनै बेला बाइस्कोप देखाइएको जस्तै ‘हिस्टोरिकल टाइमलाइन अफ नेपाली सिनेमा’ देख्नुहुनेछ । त्यसपछि तल्लो लहरमा पृथ्वी सुब्बा गुरुङहरू, दिनेश डिसीहरू ठिङ्ग उभिएको फेला पार्नुहुनेछ ।

अझ तल झर्नुभयो भने एक–दुई महिनाअघि गरिएका कार्यक्रमका सूचना, प्रेस विज्ञप्तिहरू पाउनुहुनेछ । समग्रमा, यो कुनै वेबसाइटभन्दा बढी सिकारु ब्लग साइटजस्तो देखिन्छ । न कलात्मक, न आकर्षक, न उपयोगी ।

त्यहाँ केही नम्बर उपलब्ध छन् । तर, फोन नगर्नुहोला, किनभने ती फोन उठाउने कर्मचारी सायद भेटिँदैनन्। जतिपटक फोन गर्नुहोस्, मरिगए उठ्दैनन् ।

हुन त यतिबेला विकास बोर्डको कुर्सी पनि खाली नै छ । त्यहाँ ‘योग्य’ अध्यक्षको खोजी भइरहेको छ । नयाँ अध्यक्ष विराजमान भएसँगै चलचित्र विकास बोर्डको वेबसाइट पनि गतिशील देखियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?