+

‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार

२०८३ कात्तिक  १५ गते १२:०९ २०८३ कात्तिक १५ गते १२:०९
‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका दलित समुदायको अवस्थाबारे पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ ।
  • रोयल एसियाटिक सोसाइटीले शुक्रबार निर्णायक मण्डलको सर्वसम्मत निर्णयमा पुस्तकलाई दलित अध्ययन र नेपाल अध्ययनमा महत्वपूर्ण योगदान गरेको भन्दै छनोट गरेको हो ।
  • पुस्तकले दलित समुदायको समकालीन अवस्था, सामाजिक चुनौती र असमानताका पक्षलाई समेटेको छ, र नेपालमै बज्र बुक्सबाट प्रकाशित भएको छ ।

लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ ।

बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो ।

निर्णायक मण्डलले पुस्तकले दलित अध्ययन र नेपाल अध्ययनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै सामाजिक असमानता र श्रेणीगत संरचनासम्बन्धी समाजशास्त्रीय तथा मानवशास्त्रीय बहसलाई समृद्ध बनाएको ठहर गरेको छ ।

पुस्तकमा दलित लेखक तथा अनुसन्धानकर्तासहित विभिन्न विद्वानका अनुसन्धान समेटिएका छन् । यसले नेपालका दलित समुदायको समकालीन अवस्था, उनीहरूले भोगिरहेका सामाजिक चुनौती तथा समाजमा विद्यमान असमानताका विविध पक्षलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको छ ।

रोयल एसियाटिक सोसाइटीका अनुसार यो पुस्तक शैक्षिक अनुसन्धानकर्ता, नीतिनिर्माता, राजनीतिक नेतृत्व तथा नेपालको सामाजिक अवस्थाबारे चासो राख्ने पाठकका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्नेछ ।

निर्णायक मण्डलले पुस्तकका सम्पादक प्रोफेसर डेभिड गेल्नर डा. कृष्ण अधिकारीको योगदानको प्रशंसा गर्दै यसमा लेख तथा अध्ययन समावेश गर्ने अन्य अनुसन्धानकर्ताको भूमिकालाई पनि उच्च मूल्यांकन गरेको छ ।

पुस्तकमा अर्जुन बहादुर, तिलक विश्वकर्मा, स्टिभ फोल्मार, रक्षा राम हरिजन, समृद्धि खरेल, रामप्रसाद मैनाली, पूर्ण नेपाली, जोआना फाफ-जारनेका, कृष्ण श्रेष्ठ, मनोज सुजी र रमेश सुनामलगायतका अनुसन्धानकर्ताका लेख तथा अध्ययन समेटिएका छन् ।

पुस्तक नेपालमै बज्र बुक्सबाट प्रकाशित भएको उल्लेख गर्दै निर्णायक मण्डलले नेपाली पाठकमाझ यसको पहुँच विस्तार गर्न प्रकाशन संस्थाले खेलेको भूमिकाको समेत प्रशंसा गरेको छ ।

प्रा. डा. कृष्ण अधिकारी अक्सफोर्ड विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल एन्ड कल्चरल एन्थ्रोपोलोजीसँग आबद्ध अनुसन्धानकर्ता हुन् ।

उनले जात, वर्ग र संस्कृतिका साथै दलित समुदायको गरिमासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको नेतृत्व गरेका छन् । उनी बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज यूकेका संस्थापकसमेत हुन् ।

सन् १९७५ मा पहिलोपटक नेपाल आएका उनले चार दशकभन्दा बढी समयदेखि नेपालको धर्म, समाज र संस्कृतिबारे अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

नेपालसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०२२ मा स्थापित यस पुरस्कारले नेपाल अध्ययनका क्षेत्रमा योगदान पुर्‍याउने अनुसन्धानकर्ता तथा लेखकलाई सम्मान गर्दै आएको छ ।

गत वर्ष उक्त पुरस्कार बेलफास्टस्थित क्विन्स विश्वविद्यालयको स्कुल अफ लका वरिष्ठ प्राध्यापक डा. प्रत्युष नाथ उप्रेतीलाई प्रदान गरिएको थियो । बासमती चामलको बौद्धिक सम्पत्तिसम्बन्धी अनुसन्धानका लागि उनलाई उक्त पुरस्कार दिइएको हो ।

सुवेदी प्राइज फर द स्टडी अफ नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

सुगरको रिपोर्टमाथि खैनीको बट्टा

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

हात लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

हात लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’