१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
मुख्यमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै मंगलबार मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए ।
बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।
‘कोरोना र निजी क्षेत्रको प्रोत्साहनमा केन्द्रित गरी नयां वजेट र कार्यक्रम ल्याउंछौं’ मुख्यमन्त्री केसीले भने ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले लगानीमैत्री वातावरण बनाउन र कोरोना प्रभावित उद्योगी व्यवसायीलाई राहत कार्यक्रम ल्याउन सुझाए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले संघले आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेश सभालाई उपलब्ध गराएर सहयोग गरेको तर सरकारले बुटवलका अन्य व्यवसायिक संस्थालाई वजेट दिएपनि आफ्नो संघलाई नदिएर पक्षपात गरेको गुनासो गरे ।
प्रतिक्रिया 4