+
+

तालिबानलाई प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्छ : कतार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते ११:४३

१६ भदौ, काठमाडौं । कतारका विदेशमन्त्रीले तालिबानलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्ने चेतावनी दिएका छन् ।

मंगलबार दोहामा बोल्दै विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलराहमान अल थानीले अफगानिस्तानको सुरक्षा र सामाजिक आर्थिक मुद्दामा तालिबानसँग जोडिन सबैलाई आग्रह गरेका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको माससँग बोल्दै उनले तालिबानमाथि प्रतिबन्ध लगाउँदै ऊसँगको सम्पर्क विच्छेद गर्ने हो भने यसले अर्को समस्या सिर्जना गर्ने बताएका हुन् । कतार तालिबानको लागि अन्तर्राष्ट्रिय समुदायसँग पुग्ने एउटा माध्यम बनेको छ । उसले सन् २०१३ मा कतारमा आफ्नो राजनीतिक कार्यालय खोलेको थियो ।

अहिलेसम्म विश्वका कुनै पनि मुलुकले तालिबानलाई अफगानिस्तानको सरकार मानेका छैनन् । पश्चिमा मुलुकले यो संगठनलाई मानव अधिकारको सम्मान गर्दै समावेशी सरकार बनाउन आग्रह गर्दै आएका छन् ।

कतारी विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाँदा आतंकवाद बढ्न सक्ने जोखिम रहेको भन्दै समावेशी सरकारको लागि आग्रह गरेका छन् । उनले तालिबानसँगको कुराकानीमा अहिलेसम्म सकारात्मक तथा नकारात्मक कुनै पनि प्रतिक्रिया नआएको बताएका छन् ।

जर्मनीका विदेशमन्त्री मासले अहिले आफूहरु तालिबानलाई आधिकारिकता दिने वा नदिने भन्दा पनि अहिले देखिएको समस्या समाधानको लागि प्रयासरत रहेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?