
२८ भदौ, काठमाडौं । संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको तत्काल सुनुवाइको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।
संवैधानिक इजलासमा सुनुवाइ तोकिएको अर्यालको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो । सो इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ रोकिएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दिएका थिए ।
अध्यादेशअनुसारको संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको पनि संलग्नता रहेको भनी इजलासमै प्रश्न उठेपछि सो रिटको सुनुवाइ प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको थियो । तर न्यायाधीश फुयालको एकल इजलासको आदेशपछि सुनुवाई स्थगित छ ।
अधिवक्ता अर्यालले आफूले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी निरन्तर सुनुवाइमा राख्न आदेश माग गरेका छन् ।
उनले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निष्क्रिय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिन र विना अवरोध सुनुवाइ सञ्चालन हुन दिन न्यायिक टिप्पणीसहित आदेश माग गरेका छन् ।
प्रतिक्रिया 4