+
+

ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो 

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते २०:०८

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए ।

उनले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको पनि आरोप लगाए । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाको फाइल अध्ययन गरेमा आफूमाथिको प्रतिशोध थाहा पाउने नेता गच्छदारले बताए ।

‘यो फाइल अध्ययनपछि राजनीतिक दबाब, बदनियत र प्रतिशोधपूर्ण गरिएका कामहरुबाट कुन हदसम्म पराकाष्ठा नाघ्ने रहेछ भन्ने वस्तुस्थितिको यथार्थ ज्ञान हुनेछ’ उनले भने, ‘सरकारको राजनीतिक दबाब र प्रतिशोधको एजेन्डामा संवैधानिक आयोग शीर निहुराएर जसरी पनि मुद्दा चलाउन सक्ने रहेछ भन्ने कुरा अब जगजाहेर भएको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारले बताए ।

गच्छदारले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको पनि आरोप लगाए । ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ’ उनले भने ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ ।

अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ललिता निवास प्रकरणमा जोडेर आफ्नो ५० वर्ष लामो राजनीतिक र समाजिक जीवन ध्वस्त गर्ने उद्देश्य राखिएको गच्छदारले बताए । उनले आफूले बालुवाटारमा प्रधानमन्त्री र विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना विभागीय मन्त्रीको हैसियतले मन्त्रिपरिषदसम्म मात्र पुर्‍याएको  दावी गरेका छन् । गच्छदारले आफूले गरेको काम भ्रष्टाचारजन्य नभएको पनि जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री एवं विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको हो । उक्त गुरुयोजना मेरो निर्देशन र निर्णयले बनेको होइन । सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालज्यूको निर्देशानुसार प्रक्रिया अगाडि बढेकामा तह तह हुँदै मसम्म आएको टिप्पणी बमोजिमको प्रस्ताव उपर निर्णय हुनको लागि मैले मन्त्रिपरिषदमा प्रस्ताव पेशसम्म गरेको हुँ । उक्त प्रस्ताव मन्त्रिपरिषदबाट सर्वसम्मत रुपमा पारित भई कार्यान्वयन अगाडि बढेको हो । यस्तो मन्त्रिपरिषदको सामूहिक निर्णयको विषयमा विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने मउपर मात्र मुद्दा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मउपर पूर्वाग्रह राखेको प्रमाणित गर्दछ । मैले व्यक्तिगत लाभ लिनु वा नेपाल सरकारलाई हानी पुर्‍याएको अवस्था नभएकाले सरकारको गुरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेसम्मको कार्य कदापी भ्रष्टाचारजन्य हुन सक्दैन ।’

हेर्नुहोस् गच्छदारको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?