१२ असोज, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा नेपाली नागरिक जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थीले आफ्नो पुत्ला जलाएकोप्रति आपत्ति जनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार बुझाएको ज्ञापनपत्र मन्त्रालयमा बुझ्दै मन्त्री खाणले घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएको भन्दै आपत्ति जनाए ।
‘मलाई लाग्छ प्रतिवेदनमा जे उल्लेख हुनुपर्ने हो त्यो सबै विषयबस्तु उल्लेख भएको छु गृहमन्त्री खाँणले भने ‘तर सत्तारुढ दलकै विद्यार्थीहरूले सम्पर्क र समन्वयबिना पुत्ला जलाउँदा अलि गाह्रो भयो । यस्ता विषयमा मसँग सम्पर्क र समन्वय गर्दा उपयुक्त हुन्थ्यो के भएको हो जानकारी मैले दिइहाल्थे ।’
भारतीय सुरक्षा बल एसएसबीका जवानले तुइन काटिदिँदा नेपाली नागरिक जयसिंह धामी महाकालीमा खसेको भन्दै काठमाडौंमा प्रदर्शनहरु भइरहेका थिए । त्यसै क्रममा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । त्यसपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी देश र छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।
उक्त विज्ञप्तिपछि एकीकृत समाजवादीका विद्यार्थीले गृहमन्त्री बालकृष्ण खाँणकै पुत्ला दहन गरेका थिए । मंगलबार ज्ञापनपत्र बुझाउन जाँदा मन्त्री खाँणले त्यसै घटनाप्रति असन्तुष्टि जनाएका हुन् । उनले यस्ता विषयमा आफूलाई जतिबेला पनि सम्पर्क गरेर जानकारी लिन सकिने बताए ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको टोलीले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4