+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सञ्चारमाध्यमप्रति किन नकरात्मक बन्दैछ समाज?

सुनिल बराल सुनिल बराल
२०७८ असोज १६ गते ८:२७

सञ्चारमाध्यम अर्थात् राज्यको चौथो अंग! यसलाई कैयौं नाम दिन सकिन्छ । यो समाजको ऐना हो ।यसका पछाडि कैयौं विशेषण जोड्न सकिन्छ । यो आवाजविहीनको आवाज हो । शक्तिहीनको शक्ति हो । वाक स्वतन्त्रताको पहरेदार हो । लोकतन्त्र र मानव अधिकारको खम्बा हो । यसको ठीक विपरीत, यो शक्तिशालीले भ्रम फैलाउने माध्यम हो । सत्ताका लागि मानिसको दिमाग भुट्ने औजार हो । तानाशाही प्रवृत्ति बोकेका मानिसका लागि ‘प्रोपागाण्डा’ को औजार हो ।

जब कुनै मिडियाकर्मीले कलममार्फत् आफ्नो’बर्स्ट फायर’ खोल्छ तब मै हुँ भन्नेको पनि मुटु काम्छ । हातखुट्टा काम्न थाल्छन् । नीद हराम हुन्छ । कुकृत्य गर्नका लागि त यो अदृश्य डण्ठा नै हो । मिडिया भन्नेबित्तिकै तानाशाहका कन्सिरी तात्छन् । भ्रष्टाचारीले मिडियालाई देख्नै सक्दैनन् ।

सञ्चारमाध्यमले सधैं राम्रै मात्रै गर्दैन । यो भ्रम फैलाउने माध्यमहो । यसले रातारात पहाडलाई तील र तीललाई पहाड बनाइन्छ । यसले कसैलाई तल झर्नै नसक्ने गरी उचाल्छ त कसलाई उठ्दै नसक्ने गरी पछार्छ । कहिलेकाही उत्ताउलो बन्छ । आफ्नो पेशागत सीमा नै भुल्छ र अरुको निजी जीवनको पछाडि दौडिन्छ ।

सत्ता र समाज(नागरिक)बीचको कडी पनि हो, मिडिया । यसले दुवैलाई जोड्ने मात्रै होइन,तोड्ने कामपनि गर्छ सक्छ । सामाजिक विकृतिविरुद्ध उभिँदा यसको कद निकै माथि उठ्छ । तर जब सत्तालाई ढाडस दिन थाल्छ तब यसले आफ्नो कुरुप अनुहार देखाउँछ ।

हरेक मिडिया यस्तै अन्तरविरोधमा जकडिएको हुन्छ । र यसमा हाम्रा सञ्चारमाध्यम कुनै अपवाद होइनन् । नेपाली सञ्चारमाध्यमलाई माथिका सबै विशेषणले सम्बोधन गर्न सकिन्छ । यही भएर होला,सञ्चारमाध्यमप्रति भिन्न-भिन्न दृष्टिकोण राखिने! कतिले यसलाई सकरात्मक आँखाले हेर्छन् त कतिले नकरात्मक आँखाले । कतिले यसलाई पटक्कै विश्वास गर्दैन भने कतिका लागि यही नै एकमात्रै विश्वासिलो अंग हो ।

नेपाली समाज किन नकरात्मक?

‘के गर्नुहुन्छ?’ भनेर कसैले सोध्यो र’म पत्रकार हुँ’ भन्नुभयो भने प्रश्नकर्ताको अनुहारमा एउटा मिश्रित भाव झल्केको पाउनुहुन्छ । मिडियाकर्मी भनेपछि कतिपयले आशा र आशंकाको भाव सँगसँगै प्रकट गर्छन् ।

नेपालका मिडियाकर्मीप्रति मात्रै होइन । अन्य क्षेत्रलाई पनि आशा र आशंकाको आँखाले हेरिन्छ । राजनीति, प्रशासन सबै क्षेत्रप्रति नकरात्मक भावना बढिरहेको छ । नकरात्मक भावना बढ्नमा कैयौं कारण हुन्छन् । सामाजिक, राजनीतिक, साँस्कृति, आर्थिक, मनोवैज्ञानिक कारणले मानिसहरु निराश हुने गर्छन् । राजनीति, सञ्चार माध्यम र सरकार लगायतका सबै क्षेत्रप्रति निराश हुनु वा आशंका व्यक्त गर्नु एक हदसम्म स्वभाविकै हो । तर यो प्रवृत्ति दिनप्रतिदिन बढ्दै जानु भनेको समाज अस्वस्थ बन्दैछ भन्ने पनि हो ।

सञ्चारमाध्यमप्रति समाज नकरात्मक बनिरहेको भनेर बुझ्न सामाजिक सञ्जालमा पोखिने आक्रोश हेरे पुग्छ ।पत्रकारले गल्ती गर्नुहुँदैन । गम्भीर गल्तीबाटत झन टाढै रहनुपर्छ । तर कतिपय यस्ता मानिस पनि छन् जसले दिनरात पत्रकारको खेदो खनिरहन्छन् । यस्तो लाग्छ- पत्रकारको अनावश्यक चियोचर्चो गर्न र गल्ती खोट्याउनकै लागि उनीहरु यस धर्मीमा आएका हुन् ।

यस प्रवृत्तिका मानिसले अलिकति भाषिक गल्ती भयो भने लामो अनुभव बटुलेका अब्बलपत्रकारलाई एकाएक’पत्रुकार’को बिल्ला भिराइदिन्छन् ।’पत्रकारको कामै नभएको वासमाजका लागि हानिकारक’ भएको आशयसहित यो शब्द प्रयोग हुने गर्छ । छापिएको/पोष्टिएको समाचारमा ह्रस्व-दीर्घ थोरै तलमाथि भयो भने तथानाम गाली गर्छन् ।

‘के खाएर लेख्छौंभाइ!’ ‘भाषा नआउनेले किन पत्रकारिता रोजेको बहिनी?’यत्तिको गालीलाई असभ्य भन्न मिल्दैन । तर कहिलेकाहीँ यति अमपानपूर्ण र अश्लील टिप्पणी हुन्छन् कि सम्बन्धित पत्रकारले अनावश्यक मानसिक तनाव झेल्नु पर्ने अवस्था आउँछ ।काम गर्दा कहिलेकाहीँ अन्जानमै प्राविधिक त्रुटि हुन सक्छन् । नम्रताका साथ त्रुटि देखाउनु र इमान्दार भएर त्रुटि सच्याउनु सभ्य समाजको प्रतिक हो । तर त्रुटि देखाउँदा प्रयोग गरिने भाषाले समग्र सञ्चारमाध्यमप्रति समाज असहिष्णु बनिरहेको प्रतीत हुन्छ ।

तर्क,तथ्य र आधारसहित राजनीतिक ध्रुवीकरणमा सामेल हुनु अनुचित होइन । यसले लोकतन्त्रलाई नै फाइदा हुन्छ । तर कुनै पार्टीका नेताको चरित्र हत्या गर्ने, खुइल्याउने र बदनाम गर्ने उदेश्यले निश्चित पार्टीको मतियार बन्नु ठीक होइन । सञ्चारमाध्यमको यो प्रवृत्तिले समेत नकरात्मक भावना बढ्नुमा मद्दत गरिरहेको छ

मिडियाकर्मीले पाउने अर्को उपाधि’झोले’ वा’हनुमान’हो। प्राय:जसो अवस्थामा राजनीतिसँग जोडेर यो बिल्ला लगाइने गरिन्छ । अर्थात् ‘पत्रकार भनेको नेताको झोला बोक्ने भरिया हो’ वा ‘हनुमान जस्तै भक्त हो’ भन्ने अर्थमा यो शब्दव्यापक प्रयोग हुने गर्छ ।समाजको महत्वपूर्ण क्षेत्र भएकाले राजनीतिक नेतृत्वबाट पृथक रहन सक्छ ? राजनीतिक वा सामाजिक मुद्दाको पक्षमा पैरवी गर्ने वा राजनीतिक एजेण्डा नागरिकसम्म पुर्‍याउने जिम्मेवारी बोकेकोसञ्चारमाध्यम सधै हनुमानगिरीमा रमाउन सक्छ ?राजनीतिज्ञप्रति सँधै विमतिवा सँधैसहमति वा सँधैआलोचना वा समर्थन गर्ने सञ्चारमाध्यमको कल्पना गर्न सकिन्छ ?

हो,दल वा दलका नेतापछि लागेर सँधै अनावश्यक’प्रोपागाण्डा’ गर्ने पत्रकार पनि छन् । त्यस्ता पत्रकारलाई’झोले’ भन्दा त्यति फरक नपर्ला । तर समाजलाई पछिसम्म असर पार्ने कुनै राजनीतिक वा सामाजिक मुद्दाको पक्षमा लेख्दैमा’फलानाको झोले’ र’ठिस्कानाकोपुच्छर’वा ‘हनुमान’भन्न मिल्ला र?

आफूलाई मन नपरेको समाचार लेख्नेलाई कतिपयले’डलरे’, भारुवादी, युरोवादी, युयानवादी र’फिरङ्गी’ को बिल्ला पनि लगाइहाल्छन् ।कुनै विदेशी संस्था वा शक्तिको पैसा खाएर समाचार लेखेको अर्थमा यी विशेषण प्रयोग हुने गर्छन् । छुवाछुतविरुद्ध लेख्ने पत्रकार कसरी ‘फिरङ्गी’ हुन्छ ? समाजमा विभेद छ, भेदभाव छ भन्ने पत्रकार कसरी ‘युरोवादी’ भयो ? हाम्रा समाजमा छुवाछुतै छैन त ? सबै विभेद हटिसकेका छन् त ? अवश्य पनि छैनन् । तर एउटावर्गले समाजमा व्याप्त कलंक देख्दै देख्दैन । बरु छुवाछुतको पक्षमा लेख्ने पत्रकारलाई बिना प्रमाण वा कारण’क्रिश्चियन मिशनरी’, ‘डलरे’ र’फिरंगी’को बिल्ला भिराइदिन्छ । सामाजिक कुरीति, कुसंस्कार र विकृतिविरुद्ध निरन्तर’बर्स्ट फायर’ खोल्नेपत्रकारलाई यस्ता बिल्ला लगाउनेहरु प्राय:पुरातनवादी र विषसरी फैलिइरहेको जातीय-धार्मिकअतिवादका पक्षधर देखिन्छन् ।

दोषी को?

कुनै पनि विषय वा क्षेत्रप्रति नकरात्मक दृष्टिकोण राख्नुपछाडि कैयन् कारण हुन्छन् । कहिले राजनीतिले हाम्रो दृष्टिकोण नकरात्मक बन्न पुग्छ । कहिले समाजको बेथितिबाट सिर्जित आक्रोश र निराशाले हामीलाई नकरात्मक बनाउँछ । कारण धेरै छन् ।

तर कुनै पनि क्षेत्रप्रति समाज नकरात्मक बन्नु सुखद होइन । वाक स्वतन्त्रताको आधारशीलाको रुपमा रहेको सञ्चारमाध्यमलाई समाजले शंका र घृणाले हेर्नु झन गम्भीर कुरा हो । नकरात्मकता बढ्नुमा सबै दोषी छन् ।सत्ता वा सत्ताको बागडोर सम्मालेका राजनीतिक नेतृत्वले सञ्चारमाध्यममाथि बेला-बेला गर्नु सबैभन्दा दुर्भाग्यपूर्ण हो ।

राजनीतिक नेतृत्वले नकरात्मक धारणा राख्दा यसको असर समाजको तल्लो तहसम्म पुग्छ । यसले दलका कार्यकर्तालाई मात्रै होइन, मतदातालाई समेत’नेगेटिभ’ बन्न प्रेरित गर्छ । तर हाम्रा अधिकांश नेताहरु सञ्चारमाध्यमलाई गाली गर्दा गौरवको अनुभूति गर्छन् ।

नागरिक समाज र वौद्धिक वर्गपनि उत्तिकै दोषी छन् । पछिल्लो समय सञ्चारका विभिन्न माध्यममार्फत् भ्रामक कुरा गरेर भाइरल हुने प्रवृत्ति बढिरहेको छ । आफूलाई वौद्धिक र राजनीतिक विश्लेषकको रुपमा चिनाउँदै मिडियामा आउने केही मानिसहरु हरेक कुरामा षडयन्त्र देख्ने गर्छन् । उनीहरुमध्ये केहीको काम मिडियालाई ‘भिलेन’ प्रमाणित गर्नु हो । उनीहरुको कुतर्क छेउ न टुप्पाको हुन्छ तर तीखो एवं नकरात्मक टिप्पणीका कारण उनीहरुको वाहवाही हुन थाल्छ । प्रमाणबिनै मनगणन्ते तरिकाले मिडियामाथि जथाभावी दोष लगाउँदा’मिडिया एलर्जी’ भएका मानिसलाई मनोरञ्जन पनि मिल्छ ।

नकरात्मक भावना बढ्नुमा मिडिया हाउस आफैं पनि उत्तिकै दोषी छन् । सत्तासँग नजिक भएर व्यवसायिक स्वार्थ पूरा गर्ने प्रवृत्ति संसारभरका मिडियामा देखिन्छ । हाम्रा सञ्चारमाध्यम यसबाट अछुत छैनन् । त्यस्तै, जसरी राजनीतिक रुपमा समाज ध्रुवीकृत हुँदैछ, त्यसरी नै मिडिया हाउस पनि पक्ष-विपक्षमा बाँडिएका छन् ।

तर्क,तथ्य र आधारसहित राजनीतिक ध्रुवीकरणमा सामेल हुनु अनुचित होइन । यसले लोकतन्त्रलाई नै फाइदा हुन्छ । तर कुनै पार्टीका नेताको चरित्र हत्या गर्ने, खुइल्याउने र बदनाम गर्ने उदेश्यले निश्चित पार्टीको मतियार बन्नु ठीक होइन । सञ्चारमाध्यमको यो प्रवृत्तिले समेत नकरात्मक भावना बढ्नुमा मद्दत गरिरहेको छ ।

आम नागरिक समेत दोषीको नकरात्मकता फैलिनुमा भागिदार छन् । नेताले भनेको, मिडियामा छापिएको वा वौद्धिक समुदायले फैलाएको भ्रामक कुरा पत्याएर सामाजिक सञ्जालभर पूरै सञ्चार जगतविरुद्ध होहल्ला गर्ने मानिसहरु बढिरहेका छन् । कतिले जानिजानी त कतिले नियतबश यस्तो गर्छन् । तर जे-जसरी फैलाए पनि यसले पूरा समाज भ्रमित बन्न पुग्छ र मानिसहरुले सञ्चारमाध्यमलाई खलनायकको रुपमा हेर्न पुग्छन् ।

कसरी बनाउने सकरात्मक  ?

एउटा आम गुनासो सुन्ने गरिन्छ- नेपाली सञ्चारमाध्यम सन्तुलित ढंगले समाचार संप्रेषण गर्न चुकिरहेको छ ।यो गुनासोको अर्थ हाम्रा सञ्चारमाध्यम पूर्वाग्रह राख्छन् भन्ने हो । र यो एक हदसम्म सत्य पनि हो । यही भएर सन्तुलित हुने र यो गुनासोलाई सम्बोधन गर्ने काम सञ्चारमाध्यमकै हो ।

सञ्चारमाध्यमले ‘भ्युज’ बढाउन ‘फेक न्युज’ छाप्ने गर्ने प्रवृत्ति बढ्दो छ । फलस्वरुप, सञ्चारमाध्यमप्रतिको विश्वास ह्रास हुँदै गएका छ र यसले नकरात्मक भावना बढाइरहेको छ । विश्वास कामय गर्ने एउटै मात्रै उपाय भनेको सत्य रतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नु हो । कुनै पनि शक्तिप्रति पूर्वाग्रह नराख्नु र निष्पक्ष बन्नु पनि उत्तिकै जरुरी छ ।

यसबाहेक, सञ्चार गृहले समेत नाफा र सेवाबीच सन्तुलन कामय गर्न सक्नुपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?