+
+

महिला क्रिकेटमा कतारमाथि नेपालको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १८:५१

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टी-२० खेलमा कतारलाई ११९ रनले पराजित गरेको छ ।

नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि १४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले दुई/दुई र करुणा भण्डारीले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु बर्माको ५५ रनको मद्दतमा चार विकेट गुमाएर १४६ रन बनाएको थियो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा इन्दुले नेपालको लागि सर्वाधिक ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् ।

इन्दुको अर्धशतक नेपालले महिला टी-२० अन्तर्राष्ट्रियमा प्रहार गरेको पहिलो अर्धशतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी इन्दुले ४५ बल खेल्दै ४ चौकाको मद्दतमा ५० रन बनाएकी थिइन् । कुल ४७ रन खेल्दै ५ चौकाको मद्दतमा ५५ रन बनाएर खेलिरहेकी उनी रिटायर्ट हर्ट भएकी छिन् ।

यस्तै ओपनर सीता राना मगरले ३३ बल खेल्दै पाँच चौका मद्दतमा ३९ रन जोडिन् । ओपनर काजल श्रेष्ठ तीन रनमै आउट भए पनि इन्दु र सीता राना मगरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । जुन नेपालको लागि कीर्तिमानी साझेदारी गरे ।

यसअघि सीता र इन्दुले २०१९ मा इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सरिता मगरले २१ बलमा २१ रन जोडिन् । कप्तान रुबिना क्षेत्री खाता नखोली रनआउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् ।

कविता जोशी र संगीता राईले यसै खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?